
नेपालगन्ज, ३ मंसिर – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) आज बाँके आउने भएका छन् । बुद्ध एयरको प्लेनबाट बेलुका ६ बजे मन्त्री अथक गृहजिल्ला आउन लागेको जानकारी गराईएको छ ।
बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानमा निर्माण भर्ने भनिएको महिला क्रिकेट एकेडेमीको शिलान्यासका लागि मन्त्री अथक गृहजिल्ला आउन लाग्नु भएको हो । त्यस क्रममा मन्त्री अथकले भोली शनिबार नेपालगन्जमा हुने नेपालगन्ज म्याराथनको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।

तिन दिने जिल्ला भ्रमणका क्रममा मन्त्री अथकले कोहलपुर क्रिकेट मैदान, नेपालगन्ज रंगशालाका तथा जिल्ला भित्र रहेका खेलकुदका अन्य संरचनाको अवलोकन गर्नुका साथै आफ्नो निर्वाचन क्षेत्रको अनुगमन गर्ने कार्यक्रम समेत रहेको छ ।
मन्त्रीका रुपमा पहिलो पटक पदभार ग्रहण गरे लगत्तै मन्त्री अथकले कोहलपुरमा महिला क्रिकेट एकेडेमी निर्माण गर्ने उद्घोष गर्नु भएको थियो । आईतबार बिहान ९ बजे एकेडेमीको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
