
नेपालगन्ज, २४ कार्तिक – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था शाखा कार्यालय नेपालगन्जले अन्तर्राष्ट्रिय लेखा दिवस (इन्टरनेशनल एकाउन्टिङ्ग डे) मनाएको छ ।
नोभेम्बर १० अर्थात अन्तर्राष्ट्रिय लेखा दिवसको अवसरमा संस्थाले नेपालगन्जमा प्रभात फेरी कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
संस्थाका निवर्तमान पार्षद, चार्टर्ड एकाउन्टेन्ट, रजिष्ट्रर्ड लेखा परीक्षक तथा लेखा प्राविधिक सदस्यहरु र आन्तरिक राजस्व कार्यालय नेपालगन्जका कर्मचारीहरुको उपस्थितिमा आयोजित प्रभात फेरी गणेशमान चोकबाट शुरु भई बी.पी. चोक हुँदै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था शाखा कार्यालय नेपालगन्जमा पुगेर समापन गरिएको थियो ।

समापन समारोहमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था शाखा समन्वय समिति संयोजक सिए. विश्वराम भण्डारी, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ बाँके च्यापटरका संयोजक सिए. तेज प्रकाश दीक्षित, अडिटर्स एसोसिएसन अफ नेपाल जिल्ला समिति बाँकेका अध्यक्ष आरए. भुवनप्रसाद गैरे, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका निवर्तमान पार्षद आरए. अबदुल करीम खान तथा आन्तरिक राजस्व कार्यालय नेपालगन्जका कर अधिकृत हिमालय बमले मन्तब्य राखेका थिए ।
आधुनिक लेखा पद्धतिका पिताका रुपमा परिचित लुका पेसिओलीले सन १४९४ मा “Everything About Arithmetic, Geometry and Proportion”नामक पुस्तक प्रकाशित गरेको सम्झनामा विश्वमा हरेक वर्ष नोबेम्बर १० लाई ‘इन्टरनेशनल एकाउन्टिङ्ग डे’ को रुपमा मनाइँदै आइएको छ ।
अन्तर्राष्ट्रिय लेखा दिवस पहिलो पटक सन १९७२ मा क्यालिफोर्निया सोसाइटी अफ सीपिएवा इन्स्टिच्युट अफम्यानेजमेन्ट एकाउन्टेन्ट्सको सान डिएगो च्याप्टरले मनाउन सुरु गरिएको थियो । त्यस समयमा, संगठनले लेखा क्षेत्रमा अवसरहरू महसुस गर्न युवा पुस्ताहरूलाई प्रेरित गर्ने उद्देश्य राखेको थियो । पछि, सन १९७६ मा अन्य समूहहरूले यस अवसरलाई मनाउन थालेका छन् ।
इन्टरनेशनल फेडिरेसन अफ एकाउन्टेन्स (आईएफएसी), कनफिडिरेसन अफएसिया एण्ड प्यासिफिक एकाउन्टस (सिएफपीए) तथा साउथ एसिया फिडिरेसन अफ एकाउन्टस (एसएएफए) का सदस्य संस्थाहरुले नोभेम्बर १० लाई इन्टरनेशनल एकाउन्टिङ डे को रुपमा मनाउँदै आएका छन् ।
हरेक अन्य पेशा जस्तै लेखामा सकारात्मक विचार गर्नुपर्ने धेरै कुराहरु छन् । अन्तर्राष्ट्रिय लेखा दिवसमा, मानिसहरूले लेखाकारहरूको महत्व र कुनै पनि व्यवसायको सहज सञ्चालनमा उनीहरूको योगदानलाई बुझाउन र यस पेशामा रहेका अवसरहरु चिनाउनका साथै लेखा शिक्षाको महत्वप्रति जनचेतना जगाई, लेखाको क्षेत्रमा भएका महत्वपूर्ण उपलब्धिहरुलाई उजागर गर्न तथा लेखा शिक्षा सम्बन्धी नवीन अवधारणाहरुको विषयमा छलफल गर्न, लेखाका विद्यार्थीहरुलाई प्रोत्साहन प्रदान गर्न र लेखा शिक्षाको प्रचार प्रसार गर्न इन्टरनेशनल एकाउन्टिङ्ग डे मनाउने गरिन्छ ।
