Thursday, September 25सत्यम खबर
Shadow

सिन्धुपाल्चोक पहिरोः १८ जनाको शव भेटियो, मृतकका परिवारलाई १ लाख राहत दिइने

नेपालगन्ज, ३२ श्रावण– जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो ।

फाइल तस्बिरः विष्णु क्षेत्रीको फेसबुकबाट


यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । प्रहरी कार्यालयका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सातमहिने कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो ।
लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए। घरसँगै ३९ जना बेपत्ता भएका थिए । पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
ज्यान गुमाएकाका परिवारले १ लाख पाउने
विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई रु १ लाखको दरले राहत रकम र काजकिरियाका लागि परिवारलाई तत्काल रु २५ हजार उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । यस्तै दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय भएको छ ।
एक लाख २५ हजार आर्थिक सहयोग
जुगल–२ लिदीका पहिरोपीडितका लागि तामाङ कलाकार संघले रु एक लाख २५ हजार आर्थिक सहयोग गरेको छ । संघले शनिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो । संख्यको तर्फबाट रु एक लाख र व्यवसायी पूर्ण लिम्बूबाट रु २५ हजार सहयोग गरिएको संघका अध्यक्ष सञ्जीव वाइबाले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *