Monday, April 20सत्यम खबर
Shadow

चिनियाँ कम्पनीले आयोजना पुरा हुन ढिलाई

सिन्धुपाल्चोक, १६ कार्तिक – चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्माण ७५ प्रतिशत सकिएको छ । २०७९ पुसभित्र सक्ने लक्ष्य राखी आयोजनाको निर्माण धमाधम भइरहेको छ ।
आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचनाको निर्माण वर्षा सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य राखिएको छ । विद्युतगृह भवन निर्माण आगामी पुसभित्र र ७.२ किलोमिटर सुरुङमध्ये खन्न बाँकी ४१५ मिटर तीन महिनाभित्र सक्ने लक्ष्य राखिएको छ ।
जुरे पहिरो, विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी, भोटेकोसी नदीमा पटक पटक आएको बाढी र कोभिड–१९ को महामारीको चपेटामा आयोजना परेको थियो । यस्तै, ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्य सम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ ।

फोटो गुगल


आयोजना निर्माण २०७९ को पुसभित्र सम्पन्न गर्ने गरी काम अगाडी बढाउन विद्युत प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रकृतिक प्रकोपको चपेटामा परेर बन्द हुने अवस्थामा पुगिसकेको आयोजनाको मुख्य सुरुङको बाहेक अन्य संरचनाहरूको निर्माण उत्साहजनक देखिएको बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले ठेकेदार कम्पनीको कार्यसम्पादनमा सुधार आएकाले अहिलेको गतिमा काम भए तोकिएको समयमा आयोजना निर्माण सम्पन्न हुने देखिएको बताए । ठेकेदार कम्पनीका प्रतिनिधिले जनशक्ति तथा उपकरणहरु बढाएर तोकिएको समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।
आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रो मेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो । इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिजले गरिरहेको छ । एन्ड्रिजले उपकरणहरु आयोजना स्थलमा ल्याइसकेको छ । गत वर्ष भोटेकोसी नदीमा आएको बाढी स्टोरमा पसेर उपकरणहरूमा क्षति पुर्याएको थियो ।
आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक .१५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ रहेको छ । निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।
कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरु मध्येमा नेपाल विद्युत प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लिको १, सिन्धु इन्भेष्टमेण्ट कम्पनी प्रालिको १ र सिन्धु भोटेकोशी हाइड्रोपावर लि. को १ सेयर रहेको छ । ४९ प्रतिशत सर्वसाधारण शेयर धनी समूहमा (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोक जिल्लाका स्थानीयको १० र सर्वसाधारणको–१५ प्रतिशत) रहेका छन् ।
कम्पनीले साधारण सेयर निष्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरु १० लाख ७५ हजार छन् । आयोजनाबाट वार्षिक रुपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रति युनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुनेछ । (कपिलवस्तुटाईम्स)

Leave a Reply

Your email address will not be published. Required fields are marked *