
काठमाण्डौ, ६ कार्तिक – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस महामारी विरुद्ध लड्न नेपालसँग सहकार्यका लागि दृढ रहेको बताएका छन् ।
भारतले एक सय करोड नागरिकलाई खोप लगाएको अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत दिएको बधाईको प्रतिउत्तरमा धन्यवाद दिँदै मोदीले महामारी विरुद्ध संयुक्त रूपमा लड्न नेपालसँग सहकार्य गर्न दृढ रहेको बताएका हुन् ।
मोदीले दुई देशबीचको सदियौदेखिको सभ्यतागत सम्बन्ध बलियो हुँदै जाने विश्वास पनि व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार भारतीय समकक्षी मोदीलाई बधाई दिँदै खोप उपलब्धीले छिमेकी र मित्र राष्ट्रलाई पनि सुरक्षा सुनिश्चितता गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए । नेपाललाई खोपमा गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।

