
खजुरा, ३ कार्तिक – खजरा गाउँपालिकाले वर्षाका कारण धानबालीमा भएको क्षतिको विवरण संकलन गरिने भएको छ । खजुरा गाउँपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो ।
पालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा बसेको बैठकले एकहप्ताभित्र बालीमा भएको क्षतिको विवरण संकलनका लागि कृषि शाखालाई जिम्मेवारी दिएको छ । विवरण संकलन गरेपछि क्षतिपूर्तिको लागि संघ, प्रदेशमा सिफारिस गरिने अध्यक्ष कक्षपतिले बताए ।
केही दिनकाे लगातारको अविरल वर्षाका कारण किसानको भित्र्याउन लागेको धानबालीमा नोक्सानी पुर्याएको छ । उनीहरूको लागि स्थानीय सरकारले दिन सक्ने राहतका लागि आगामी बैठकले निर्णय गर्ने अध्यक्ष कक्षपतिले बताए ।
