Thursday, November 21सत्यम खबर
Shadow

हेमकार परिवार हत्याकाण्डमा १३ बर्षपछि आरोपी पक्राउ

बाँके,१४ असोज । बाँकेको नेपालगञ्जका सुन व्यवसायी हेमकार परिवार हत्याकाण्डका आरोपीलाई १३ बर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०६२ साल फागुन २३ गते नेपालगञ्ज ११ सदरलाइन स्थित न्यू दिप ज्वेलर्सका सञ्चालक दिपक हेमकारसहित हेमकार परिवारका ४ जना र पसलमा काम गर्ने अर्का एक व्यक्ति गरी ५ जनाको सुतेको अवस्थामा धारिलो हतियार प्रहरी गरी हत्या भएको थियो ।
सो हत्यामा संलग्न भएको आरोपमा बाँके प्रहरीले भारत उत्तर प्रदेश सीतापुर जिल्ला विसवां बजारका ६५ बर्षीय किशोरीलाल सोनीलाई शनिवार राती ८ बजेतिर भारतीय सीमावर्ती क्षेत्र जमुनहा नाकाबाट पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए ।
आईतवार पत्रकार सम्मेलन मार्फत् आरोपी सोनीलाई सार्वजनिक गर्दै प्रहरी प्रमुख पौडेलले जमुनहा नाका भएर नेपालगञ्ज प्रवेश गर्ने क्रममा उनलाई पक्राउ गरेको जानकारी दिए ।
१३ बर्ष अघि ८२ बर्षिया गुलाव देवी हेमकार, ६२ बर्षिय जगदेव हेमकार, उहाँकी श्रीमति ४५ बर्षिया सीतादेवी, छोरा ३२ बर्षिय दिपक र ज्वेलर्समा काम गर्ने साविकको खासकुश्मा गाविस १ कुसुमका १५ बर्षिय रामशनिच्चर चौधरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
हत्या आरोपी सोनी दिपक हेमकारका ससुरा हुन् । दिपककी श्रीमति दिपा भने घटनापछि फरार छिन् । प्रहरीले घटनामा अझैं धेरैको संलग्नता रहेको आशंकामा थप अनुसन्धान अघि बढाएको जनाएको छ । पक्राउ परेका किशोरीलाल भारतमा पनि ज्यान मुद्दामा सजाय भोगिसकेका व्यक्ति भएको प्रहरीले जनाएको छ । किशोरीलाल पनि भारतमा सुन व्यवसाय गर्दै आएका व्यक्ति हुन् ।

हत्याकाण्ड भएको तीन महिना पनि नबित्दै ससुरालीका व्यक्तिहरुले नेपालगन्जमा रहेको करोडौंको सम्पत्ती निक्कै सस्तो मूल्यमा बेचेर गएपछि प्रहरीले उनीहरुमाथि निगरानी राखेर अनुसन्धान गरिरहेको थियो ।
डेढ महिनाअघि बाँके प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आईपुगेका एसपी पौडेलले सीआईबीमा हुँदा पनि नजिकबाट हेमकार हत्याकाण्डको अनुसन्धानमा संलग्न थिए । प्रारम्भिक अनुसन्धानबाट सम्पत्तिकै लागि हेमकार परिवारको हत्या गरिएको खुल्न आएको बाँके प्रहरी प्रमुख पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *