
राप्तीसोनारी, २५ असोज – बाँकेको राप्ती सोनारी गाउँपालिका क्षेत्रका कोरोना संक्रमित ब्यक्तिलाई राहत रकम वितरण सुरु गरिएको छ । गाउँपालिका कार्यालयले आईतबारबाट जनही ५ हजार रुपैयाँका दरले वितरण सुरु गरेको हो ।
गाउँपालिकाले केही महिनाअघि कोरोना संक्रमित भएका ब्यक्तिलाई राहत रकम प्रदान गर्ने निर्णय गरेको थियो । यसअघि गाउँपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिका परिवारलाई किरिया खर्च वापत जनही २० हजार तथा राहत स्वरुप एक लाख रुपैयाँ प्रदान गरिसकेको छ ।
गाउँपालिका अध्यक्ष लाहुराम थारुले मुत्युको शैयाबाट फर्केका कोरोना संक्रमित ब्यक्तिलाई हौसला प्रदान गर्न र सर्बसाधारणलाई कोरोना परिक्षणका लागि अभिप्रेरित गर्ने उद्देश्यले रकम प्रदान गरिएको बताउनु भयो । कोरोना संक्रमितलाई रकम दिनेमा राप्ती सोनारी सम्भवतः देश कै पहिलो गाउँपालिका भएको उहाँको दाबी छ ।
गाउँपालिकाले आइतबार पहिलो दिन मात्रै कोरोना संक्रमित भएर निको भएका ८० जना ब्यक्तिलाई ४ लाख रुपैयाँ वितरण गरेको अध्यक्ष थारुले जानकारी दिनुभयो । गाउँपालिका क्षेत्रभित्र ७ सय ५० जना कोरोना संक्रमित ब्यक्ति रहेको तथ्यांक गाउँपालिकासँग छ । ‘सकभर दसैँ अगाडी नै सबै ब्यक्तिलाई रकम वितरण गर्ने हाम्रो योजना छ,’ उहाँले भन्नुभयो ‘सबैलाई वितरण गर्दासम्म ३७ लाख ५० हजार जति खर्च हुने हाम्रो अनुमान छ ।’
गाउँपालिकाले यसअघि कोरोना संक्रमणबाट मृत्यु भएका २३ जना ब्यक्तिका परिवारलाई किरिया खर्च वापत २० हजार र राहत स्वरुप एक लाख रुपैयाँ प्रदान गरिसकिएको अध्यक्ष थारुले स्मरण गराउनु भयो ।
‘हामीले मृतकका परिवारलाई किरिया खर्च र राहत रकम प्रदान गरिसकेका छौंं,’ उहाँले भन्नुभयो ‘कोरोना संक्रमित भएर निको भएपनि उनीहरु मृत्युको शैयाबाट बाँचेर फर्केका हुन्, उनीहरुको पनि उपचारका क्रममा गाडीभाडा, फलफुल, औषधी उपचारमा थुप्रै पैसा खर्च भएको छ, त्यसमा थोरै भएपनि राहत मिलोस् भन्ने पनि हो ।’
गाउँपालिका अध्यक्ष थारु पनि कोरोना संक्रमित भएर निको हुनु भएको थियो । उहाँसहित उपाध्यक्ष धनीकुमारी खत्री तथा वडाका जनप्रतिनिधी र थुप्रै कर्मचारी संक्रमित भएर निको हुनु भएको थियो । राप्ती सोनारी–६ का वडासदस्य तारा कसेराको त कोरोना संक्रमणबाटै मृत्यु भयो । आफु स्वयं कोरोना संक्रमित भएर निको भएको र अझै स्वास्थ्यमा पूर्ण रुपले सुधार नआएको उहाँले सुनाउनु भयो ।
‘यो रकम मृत्युको शैयाबाट बाँचेर फर्केका ब्यक्तिलाई हौसला प्रदान गर्नलाई हो, अर्को कुरा गाउँपालिकाले कोरोना संक्रमितलाई पनि पैसा दिन्छ भन्ने थाहा पाएपछि कोरोना परिक्षण गराउनेको संख्या बढ्न सक्ने र त्यसले कोरोना महामारी नियन्त्रणमा पनि सहयोग पुग्ने हामीलाई विश्वास छ,’ अध्यक्ष थारुले भन्नुभयो ‘पहिला त गाउँपालिकाले पैसा दिन्छ भनेर कसैलाई विश्वास थिएन, अहिले जब पैसा पाउन थाले, धेरै जना ब्यक्तिहरु सम्पर्कमा आउन थालेका छन् ।’

