Monday, April 27सत्यम खबर
Shadow

नेपालगन्ज म्याराथन मंसिर ४ गते हुने, अनलाईन मार्फत दर्ता गर्न सकिने

नेपालगन्ज, २३ असोज – सातौं धारा नेपालगन्ज म्याराथन मंसिर ४ गते हुने भएको आयाेजकद्वारा जनाईएकाे छ । नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको मंसिर ५ गतेको दिनलाई स्मरण गर्दै हरेक वर्ष नेपालगन्ज म्याराथन हुँदै आएको छ । आयोजक क्रियटिभ ह्याण्ड्सले शनिबार पत्रकार सम्मेलन गरेर सो को जानकारी दिएका छन् ।

म्याराथनको व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले सोही पत्रकार सम्मेलनमा नेपालगन्ज म्याराथन डटकम वेभसाइट समेत सार्वजनिक गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, शिखर प्लाईका निर्देशक प्रदीप दुगर, राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतम, फोन पेका शाखा प्रबन्धक महेन्द्र राना र नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले संयुक्त रुपमा वेभसाइटको शुभारम्भ गरेका हुन् ।

म्याराथनका लागि शनिबारदेखि नै खेलाडी दर्ता खुला गरिएको आयोजकले जनाएको छ । यसबर्षदेखि वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने आयोजक अध्यक्ष टीएस ठकुरीले बताए ।

विभिन्न दश वटा विधामा स्पर्धा गर्न सकिने उनले बताए । पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन, १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेर समुह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । नगद पुरस्कार राशीमा वृद्धि गरिने आयोजक अध्यक्ष ठकुरीले बताए ।

‘पुरस्कार राशीमा वृद्धि अवश्य हुनेछ, साथै हामी यसबर्ष अन्य केही सरप्राइज प्याकेज पनि घोषणा गर्दैछौं,’ अध्यक्ष ठकुरीले भने, ‘विद्युतीय प्रविधिको प्रयोग भरपुर सदुपयोग गरी म्याराथनको स्तरोन्नति गरेर अगाडि बढ्दैछौं, वेभसाइट माथि लगानी पहिलो प्रयास हो ।’ म्याराथन विजेताका लागि बर्षभरि प्रशिक्षणको व्यवस्थापनमा आवश्यक लगानीका लागि प्रायोजकहरुसँग परामर्श गरिरहेको उनले बताए ।

नगर उपप्रमुख थापाले नेपाल धारा नेपालगन्ज म्याराथनले बर्षेनी स्तरोन्नति गर्दै गएकोमा खुशी व्यक्त गरिन् । टाइटल स्पोन्सर केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेडले नेपालगन्ज म्याराथनको निरन्तरता र स्तरोन्नतिमा आफुहरु सदैव तत्पर रहेको बताउनुभयो ।

धारा शुद्ध तोरीको तेल केएल दुगड ग्रुपको उत्पादन हो । राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतमले धारा नेपालगन्ज म्याराथनसँग पाँचौं संस्करणदेखि निरन्तर जोडिन पाएकोमा बैंक परिवारले गौरवको अनुभुति गरेको बताए । फोन पेका शाखा प्रबन्धक महेन्द्र रानाले हरेक सहभागीले फोन पे नेटवर्क प्रयोग गरी दर्ता शुल्क भुक्तानी गर्न सकिने भएकाले सबैलाई सहज हुने धारणा व्यक्त गरे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *