Monday, April 27सत्यम खबर
Shadow

आजदेखि सोह्रश्राद्ध सकिँदै

नेपालगन्ज, २० असोज – पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज बुधबार सकिँदै छ । भाद्रशुक्ल पूर्णिमाको दिनदेखि औंसीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो ।
सोह्र श्राद्धमा घर वा तिर्थस्थलमा पितृहरूको श्राद्धकर्म गरी पितृको सम्झना गर्ने धार्मिक परम्परा रही आएको छ । जोतिष शास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्णपक्षलाई पितृ पक्ष मानिएको छ । पितृहरूका लागि वर्षको दुई पटक श्राद्ध अर्थात् पिण्डदान गर्ने गरिन्छ ।
पितृ पक्षको अन्तिम दिन आज बुधबार आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारण सोह्रश्राद्धको अरु तिथिमा श्राद्ध गरिएन भने पनि औँसी तिथिमा गर्न सकिने कर्मकाण्डीय व्यवस्था रहेको छ ।


कूर्म पुराणको अनुसार सोह्र श्राद्धको औंसीको दिन पितृहरू वायुको रूपमा मत्र्यलोक आउने र त्यसदिनको साँझसम्म आफ्ना कुलका वंसजहरूले श्राद्ध गरे नगरेको हेर्ने गर्दछन् । पितृहरू दिवंगत भएको वार्षिक तिथिमा अझ औंशीको दिनमा विशेष गरेर पितृका नाममा दान गर्ने, तर्पण दिने, पूजा गर्ने, यज्ञ गर्ने धार्मिक प्रचलन रहेको छ ।
सोह्र श्राद्धमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन् । जसलाई पूर्वजको मृत्यु तिथि थाहा हुँदैन उनीहरूले औंसी तिथिमा श्राद्ध गर्ने धार्मिक नियम रहेको छ । श्राद्ध कर्मलाई आफ्नै घरमा गर्नु उत्तम मानिन्छ । यदि घरमा श्राद्ध तर्पणादि कार्य सम्भव नभए नजिकैको तीर्थस्थल वा मन्दिरमा गर्नु पनि उत्तिकै उपयुक्त र फलदायी नै मानिन्छ ।
पौराणिक ग्रन्थहरूमा उल्लेख भए अनुसार मानिस देवऋण, ऋषिऋण र पितृऋणले बाँधिएका हुन्छन् । भक्तिपूर्ण श्राद्धकर्म सकेपछि मात्रै पितृऋणबाट मुक्ति पाइने विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *