Saturday, April 25सत्यम खबर
Shadow

स्वास्थ्य शिविरबाट ३१९ जना गाउँलेले निःशुल्क सेवा लिए

नेपालगन्ज, १७ असोज – सरकारी तथा नीजि क्षेत्रद्वारा सञ्चालित मेडिकल कलेज, ठुला अस्पताल र स्वास्थ्य केन्द्रहरुको सेवा उपलब्ध भइरहेको नेपालगन्ज नगर भित्र पनि विभिन्न सामाजिक संघ संस्थाहरुबाट आयोजना गरिने निःशुल्क स्वास्थ्य शिविरमा विरामी अर्थात सेवाग्राहीहरुको बढ्दो चाँप देख्दा सर्वसाधारण नागरिक सहज स्वास्थ्य सेवाबाट अझै पनि वञ्चित रहेको सजिलै अनुमान लगाउन सकिन्छ ।
नेपालगन्ज उपमहानगरपालिकाको पूर्व दक्षिणको सिमानासँग जोडिएको डुडुवा गाउँपालिका वडा नं. ६ मा आयोजना गरिएका स्वास्थ्य शिविरहरुमा सर्वसाधारण नागरिक लामो लाममा घण्टौं उभिएर पनि सेवा लिनेहरुको भिडको दृश्यले यस्तै आभाष दिएको हो ।
नेपालगन्ज नगरको दक्षिणी सिमानामा जोडिएको नरैनापुर गाउँमा शनिवार आयोजित निःशुल्क स्वास्थ्य शिविर र निःशुल्क आँखा शिविरमा सर्वसाधारणको यस्तै भीड देखियो । शिविरको लागि स्थानीय संयोजनको भूमिकामा रहेका स्थानीय अगुवा गुरुद्दीन यादवले हामीले २ दिन अगाडीदेखि मात्र शिविर हुँदैछ भनेर गाउँका केही व्यक्ति मार्फत् सूचना गरेका थियौं, तर विभिन्न वडा नं. ६ अन्तर्गतका ११ वटा गाउँबाट यति धेरै मानिस आइरिए कि हामी आफैलाई आश्चर्यमा पर्यौं । यादवले भन्नुभयो– पर्चा पम्प्लेट, सञ्चारमाध्यम लगायत कुनै पनि माध्यम प्रयोग गरेनौं । तर, निःशुल्क स्वास्थ्य सेवा पाउन लालायित गाउँलेहरुको आइरो साँझ ४ बजेसम्म रहीरह्यो, स्वास्थ्यकर्मीृहरुको टिमले ४ बजेपछि मात्र खाना खाने फुर्सद् पाए ।
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँकेको आयोजनामा सम्पन्न उक्त निःशुल्क स्वास्थ्य शिविर र निःशुल्क आँखा शिविरमा सर्वसाधारणको घुइँचो लागेको देख्दा उनीहरु स्वास्थ्य सेवाको सहज पहुँचबाट अझै पनि टाढा छन् भन्ने प्रष्ट हुन्छ ।
शिविरमा ३१९ जना सर्वसाधारणले तीन जना चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराएर निःशुल्क औषधि समेत प्राप्त गरेका छन् । आयोजक संस्थाकी अध्यक्ष लता शर्माले दिनु भएको जानकारी अनुसार अन्तर्राष्टिूय अहिंसा विरुद्धको दिवसको दिन पारेर शनिवार विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म सञ्चालित शिविरबाट लाभान्वित ३१९ जना मध्ये महिला १७९ जना र पुरुष १४० जना थिए भने सबभन्दा कम उमेरका ४ महिनाको बच्चादेखि ९० वर्षका वृद्धासम्मले समेत सेवा लिएका छन् ।
केन्द्रकी अध्यक्ष शर्माले उक्त शिविरमा आँखा स्वास्थ्य परीक्षण गराउनेहरु १६९ जना थिए भने सबभन्दा कम उमेर दुई वर्षाको बालकदेखि ९० वर्षिया वृद्धाले आँखा परीक्षण गराएर निःशुल्क औषधि प्राप्त गरेका थिए ।
उक्त शिविरमा पिसाबको संक्रमण, ढाड र घुँडाको दुखाई, मुटु, हाइपरटेन्सन, मधुमेहको जस्तै लक्षण र कानको समस्या लगायतका समस्या बढी देखिएको नेपालगन्ज मेडिकल कलेजका मेडिकल अधिकृत डा. मोहम्मद आजामले बताउनु भयो । महिलाहरुको सेतो पानी बग्ने आदि सम्बन्धि समस्याबाट पीडितहरु बढी आएका नेपालगन्ज मेडिकल कलेजका मेडिकल अधिकृत डा. क्योके सिंहले बताउनु भयो ।
त्यस्तै आँखामा मोतिया विन्दू, एलर्जी, मासु पलाउने र दुरदृष्टिको बढी समस्या देखिएको नेपालगन्ज मेडिकल कलेजका नेत्र रोग विशेषज्ञ जीतेन्द्र कुमार वर्माले बताउनु भयो ।
सोही अवसरमा आयोजक संस्थाकी अध्यक्ष लता शर्माले श्री जनता आधारभूत विद्यालय, डुडुवा–१, होलियाका शिक्षक गुरुदीन यादवलाई विद्यालयका शिक्षक तथा विद्यार्थीहरुका लागि आकस्मिक अवस्थामा आवश्यक पर्ने प्राथमिक उपचारका औषधीहरुको बक्सा (फष्ट एड बाक्स) हस्तान्तरण गर्नु भयो ।
शिविरबाट डुडुवा गाउँपालिका वडा नं. ६ अन्तर्गत सुब्बापुर्वा, सिक्खन पुर्वा, पटवारी पुर्वा, बल्दी पुर्वा, महन्त पुर्वा, पहाडिन पुर्वा, फकिरे पुर्वा, कालाबन्जर, हिरमिनिया, समेत ११ गाउँका ग्रामीण समुदायका सर्वसाधारण लाभान्वित भएका थिए ।
डुडुवा गाउँपालिका–६, हिरमिनिया स्थित हिरमिनिया स्वास्थ्य चौकी, श्री कृष्ण कृषक सहकारी संस्था लि. र श्री महा तरकारी उत्पादन सहकारी संस्था लि.ले स्थानीय स्तरमा समन्वय र सहयोग गरेका थिए ।
शिविरमा शिविरमा स्वास्थ्यकर्मीद्वय राजेन्द्र कुमार वर्मा, स्टाफ नर्स स्मारिका श्रेष्ठ, स्टाफ नर्स सिर्जना धौलाकोटीले चिकित्सा सहयोगीको भूमिका खेलेका थिए । अन्य सहयोग गर्नेहरुमा केन्द्रकी उपाध्यक्ष तारा के.सी., कोषाध्यक्ष ममता आचार्य, सदस्य नितेश गिरि, रमणकुमार शर्मा, निखिल जायसवाल, पुष्पाकुमारी मास्के थिए ।
त्यस्तै शिविरमा स्थानीय रुपमा सहयोग गर्नेमा हिरमिनिया स्वास्थ्य चौकीका अहेब जोगेन्द्र मौर्य, भुवन गैरे, अशोक कुमार मौर्य, निरञ्जन यादव, विन्देश मौर्य, कृष्णकुमार मौर्य लगायत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *