
नेपालगन्ज, १३ असोज – दिगो बिकासका लक्ष्यहरुको स्थानीयकरण, स्वच्छ पानी तथा सरसफाईका लागि सरोकारवालाहरुको भूमिका बिषयक सार्वजनिक सम्वाद कार्यक्रम आज बुधबार सम्पन्न भएको छ ।
४१ औं सामाजिक सेवा दिवस तथा दिगो विकास लक्ष्य सम्बन्धी सप्ताहव्यापी अभियान अन्तर्गत गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाले सो सम्वाद कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले दिगो विकासका लक्ष्यहरु हासिल गर्नका लागि सबै सरोकारवालाहरु प्रतिबद्ध हुनुपर्ने बताए । उनले दिगो विकासका लक्ष्यहरुमा केन्द्रीत भई तीन वटै तहका सरकारहरुले आफ्नो नीति, बजेट र कार्यक्रममा समेट्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले दिगो विकासका लक्ष्यहरुको स्थानीयकरणका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका पूर्ब केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले खानेपानी, सरसफाईको सुनिश्चितताका लागि सरोकारवालाहरु प्रतिबद्ध हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार पूर्णलाल चुकेले दिगो विकासका लक्ष्यहरु हासिल गर्नका लागि सरकार प्रतिबद्ध हुनुपर्ने बताए । दिगो विकासका लक्ष्यहरु, दिगो विकासको लक्ष्य नम्वर ६ स्वच्छ पानी तथा सरसफाईका बिषयमा अमेरिकी सहयोग नियोग (USAID)- SNV USA स्वच्छता परियोजनाका डेपुटि चिप अफ पार्टी महेश ढुँगेलले कार्यपत्र प्रश्तुति गरेका थिए भने दिगो विकासका लक्ष्य र दिगो विकासका लक्ष्यहरुको स्थानीयकरणका बारेमा गेरुवा ग्रामिण जागरण संघका कार्यकारी निर्देशक हरि सुबेदीले प्रश्तुतिकरण गरेका थिए ।
कार्यपत्रका बिषयमा समाज सेवा संस्थाका अध्यक्ष बिनोद थापा, बाँके युनेस्को क्लबकी ओजश्वी जोशी, आईएचआरसिका कृष्ण मुरारी भट्ट, जिल्ला बार ईकाईका अध्यक्ष अधिवक्ता जनक शाही लगायत बोलेका थिए ।
महासंघका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद तिमिल्सिनाले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन सदस्य शंकर न्यौपानेले गरेका थिए ।
कार्यक्रमको अन्तमा ८ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । व्यक्त गरिएका प्रतिबद्धताहरुमा दिगो बिकासका लक्ष्यहरुको कार्यान्वयनका लागि आ–आफ्नो तर्फबाट पहल गर्ने, दिगो बिकासका लक्ष्यहरुको स्थानीयकरण र आन्तरिकरणका लागि सबैको तर्फबाट पहल गर्ने, दिगो विकासका लक्ष्यहरु हासिल गर्न तीनै तहका सरकारलाई ऐन, नीति नियम बनाउनुका साथै आवश्यक कार्यक्रम तथा बजेट बिनियोजन गर्न माग गर्ने, दिगो विकासका लक्ष्यलाई योगदान गर्नका लागि सञ्चालित बिभिन्न कार्यक्रम, परियोजना र क्रियाकलापहरुको अवस्था प्रतिवेदन तयार गर्नुका साथै कार्यक्रम, परियोजना अद्यावधिक गर्न आह्वान गर्ने, स्थानीय तहमा दिगोविकासका लक्ष्यहरु सम्बन्धि अभियान, कार्यक्रम र परियोजनाहरु सन्चालन गर्न सम्वद्ध निकायहरुसँग माग गर्ने, दिगो बिकासका लक्ष्यहरु हाँसिल गर्नका लागि जिल्ला र स्थानीय स्तरमा समिति गठन गर्ने, सक्रिय बनाउने, दिगो बिकासका लक्ष्यहरु बारे सरोकारवाला निकायहरुको क्षमता अभिबृद्धि गर्न स्थानीय सरकारसँग माग गर्ने, दिगो बिकासका लक्ष्यहरु मध्येको ६ नम्वर लक्ष्य स्वच्छ पानी तथा सरसफाईको सुनिश्चितताका लागि सम्वन्धित निकाय (स्थानीय सरकार, खानेपानी संस्थान, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय) प्रतिबद्ध रहने प्रतिबद्धता जाहेर गर्ने र दिगो बिकासका लक्ष्यहरु हांसिल गर्नका लागि साझेदारी गर्ने रहेका छन् ।
कार्यक्रममा सय बढिको सहभागिता रहेको थियो । बास नेपाल, नेपालगन्जको संयोजनमा सम्पन्न कार्यक्रममा प्लान ईण्टरनेशनल नेपाल, कारितास नेपाल, अमेरिकी सहयोग नियोग (USAID)- SNV USA स्वच्छता परियोजना, गैरसरकारी संस्था महासंघ नेपाल, केन्द्रीय कार्यालय र स्याक नेपालले सहयोग गरेका थिए ।




