Saturday, April 18सत्यम खबर
Shadow

छात्रा कलेज सञ्चालनका लागि समिति गठन

नेपालगन्ज, ३० श्रावण – नेपालगन्जमा सञ्चालन गर्न लागिएको छात्रा कलेज सञ्चालनका लागि सञ्चालक समिति गठन गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा शनिबार आयोजित कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले सञ्चालक समितिका अध्यक्ष विजय गुप्ता लगायत समितिका पदाधिकारी र सल्लाहकार समितिका सदस्यहरुलाई औपचारिक पत्र हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा नगर प्रमुख राणाले महिला कलेज सञ्चालनका लागि भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिंदै उपमहानगरपालिकाको परियोजना भएपनि यसको सञ्चालन उपमहानगरपालिकाको प्रत्यक्ष नियन्त्रण भन्दा स्वायत्त होस भन्ने चाहना आफुहरुको रहेको बताउनुभयो ।


उपप्रमुख थापा मगरले समाजमा पछाडी परेका समुदायका छात्राहरुलाई उच्च शिक्षामा प्रवेशका लागि कलेज सञ्चालन गर्न लागिएको राजनीतिक प्रभाव विना निष्पक्ष भएर काम गर्न आग्रह गर्नुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाले मंगलप्रसाद उच्च माविमा कलेज स्थापनाका लागि ४० कोठे भवन तयार पारेको छ । यसवर्र्ष बिएससी सिएसआईटी र विएड कक्षा सञ्चालन अनुमतिका केही दिनमै प्रस्तावनापत्र मध्यपश्चिम विश्व विद्यालयमा पेश गरिने नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो ।


नेपालगन्जमा रहेका मधेसी र मुस्लिम समुदायका छात्राहरुका लागि मुख्य लक्षित गरि कलेज स्थापना गर्न लागिएको हो । मधेसी आयोगका सदस्य गुप्ता अध्यक्ष रहेको ११ सदस्यीय सञ्चालक समितिको सदस्यहरुमा रविन्द्र कर्ण, अनिता शाह, मैमूना सिद्धिकी, नमस्कार शाह, कौसलकुमार धोवी, मो. खालिद ईकवाल ईराकी, चन्द्रशेखर पाण्डे, दिपाली टण्डन गुप्ता रहनुभएको छ । समितिको सदस्य सचिव क्याम्पस प्रमुख र शिक्षा महाशाखाबाट पनि समितिमा प्रतिनिधित्व हुनेछ ।
यसैगरी नगर प्रमुख डा. धवल शम्शेर राणाको संयोजकत्वमा डा. एम किदवाई, डा. कौशलकुमार वर्मा, परवेज अली सिद्धिकी र सशी स्वार रहेको सल्लाहकार समिति गठन गरिएको छ । उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा अनूगमन समिति गठन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *