Tuesday, April 21सत्यम खबर
Shadow

अनुगमन तथा मूल्याङ्कन गोष्ठी सम्पन्न

नेपालगन्ज, २१ श्रावण – ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रद्वारा आयोजित समूहको अनुगमन तथा मूल्याङ्कन गोष्ठी सम्पन्न आज विहीवार सम्पन्न भएको छ ।
केन्द्रका अध्यक्ष लता शर्माको अध्यक्षतामा सम्पन्न तथा ३५ जना सदस्यहरुको सहभागिता रहेको उक्त गोष्ठीमा वडा नं. ३ र १२ मा रहेका महिला बचत तथा ऋण परिचालन समन्वय समिति अन्तर्गत रहेका विभिन्न महिला समूहहरुको आर्थिक वर्ष २०७७/०७८ को बचत, बचत परिचालन, ऋण लगानी, असुली तथा भाका नाघेको ऋण लगायतको वास्तविक अवस्थाका बारेमा केन्द्रका उपाध्यक्ष तारा केसीले प्रस्तुती गर्नु भयो ।


ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र नेपालगन्जले पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत वडा नं. ३ र १२ मा रहेका बचत समूहका महिलाहरुको लागि उक्त तालिमको आयोजना गरेको थियो ।
सो गोष्ठीमा केन्द्रका कोषाध्यक्ष ममता आचार्यले वडा नं. ३ र १२ मा रहेका महिला बचत तथा ऋण परिचालन समन्वय समिति अन्तर्गत रहेका विभिन्न महिला समूहहरुको आर्थिक वर्ष २०७७÷०७८ को बचतको वास्तविक अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।


सो अवसरमा सामुदायिक स्वास्थ्य सेवा केन्द्रका ल्याव टेक्नीसियन राजेन्द्रकुमार वर्माले कोरोना संक्रमणको परिचय र यसबाट बच्ने उपायका बारेमा जानकारी दिनु भएको थियो । केन्द्रका सचिव पूर्णलाल चुकेले शुरुमा स्वागत गर्दै गोष्ठीको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।
केन्द्रका अध्यक्ष शर्माले हरेक वर्ष आयोजना गरिने समूहको अनुगमन तथा मूल्याङ्कन गोष्ठी कोरोना संक्रमण र लामो समयसम्म जारी रहेको लकडाउनको कारण स्थगित रहेको यो गोष्ठी अलिकति सहज अवस्था भएकोले आयोजना गरिएको बताउनु भएको थियो ।


अध्यक्ष शर्माले कोरोना संक्रमणले बाँके जिल्लामा मात्र यस वर्ष ७ सय २ जनाको ज्यान लिएको कहालीलाग्दो अवस्था भोगेका हामीले यसबाट केही सकारात्मक कुरा पनि सिकेको भन्दै बेलाबेलामा हात खुट्टा धुने, सरसफाई गर्ने, स्वास्थ्य सतर्कता अपनाउने, अनुशासनमा बस्ने, मास्क लगाएर धुवाँ धुलोबाट बच्ने जस्ता राम्रा कुराहरु पनि अनुसरण गरेको बताउनु भयो ।
सो गोष्ठीमा सहभागी केन्द्र नं. १ की अध्यक्ष विष्णु माया बुढा, केन्द्र नं. २ की अध्यक्ष हिमा देवी शर्मा, मैसरा ओली लगायतले कोरोना संक्रमणको अनुभव आदान प्रदान गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *