
नेपालगन्ज २१ श्रावण – स्थानीय समुदायका समस्या तथा समाधानका पहलका बारेमा छलफल गरिएको छ । शिक्षा, स्वास्थ्य, कृषि, विपत तथा सडक व्यवस्थापन र वातावरण लगायतका विभिन्न सवालहरुमाथी छलफल गरि कार्यान्वयनका लागि पहल गरिएको हो ।
पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्रद्धारा आज विहीबार आयोजित साझा सभामा उठेका सवालहरु माथी छलफल गरि भएका समस्यालाई सम्बोधन गर्न प्रतिबद्धता गरिएको थियो ।
कार्यक्रममा बाँकेको डुडुवा गाउँपालिकामा शिक्षा क्षेत्रतर्फ अम्रहवा विद्यालयमा विद्यार्थीको न्युन संख्या, नियमित शिक्षक अनुपस्थित, विद्यार्थी ड्रपआउट, मदरसा शिक्षामा कक्षा स्वीकृति, विषयगत शिक्षक दरवन्दी, दिवा खाजा कृषितर्फ कृषक अनुदान, रासायनिक मल वितरण, सिचाईका समस्या, कोरोना विरुद्धको खोपको व्यवस्थापन, गाउ“घर किल्निक तथा खोप व्यवस्थापन, भेरी डिस्टलरीबाट निस्कने दुर्गन्धीत फोहरले पारेको असर, टिप्पर आतंक तथा राप्ती र डुडुवा पुल जीर्ण र आवत–जावतमा यात्रुलाई सास्ती लगायतका विषयमा समुदायका सहभागिहरुले आ–आफना समस्याहरु राखेका थिए ।
सभामा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले मुलुक संघिय पुर्नसंरचनामा गएको खुशीको कुरा हो तर स्थानीय सरकार सञ्चालन तथा व्यवस्थापनका लागि कानुन, निति, नियमको प्रभावकारी कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय सरकारका काम कारवाही गुणस्तरियता तथा प्रभावकारिताका बारेमा अनुगमन गर्न जरुरी रहेको भन्दै स्थानीय तह अन्तर्गत पनि अनुगमनको प्रभावकारी संन्यत्र निर्माण गरि कार्य गर्नुपर्ने बताउनुभयो ।
डुडुवाका कार्यपालिका सदस्य लिलावती यादवले कार्यक्रममा उठेका विभिन्न सवालहरुलाई विषयगत शाखाबाट समाधान हुन नसकेका सवाललाई कार्यपालिका बैठकमा छलफल गरि समाधान तर्फ पहल गर्ने प्रतिबद्धता गर्नुभयो ।
सभामा आएका सवाल तथा समस्याहरु प्रति जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख रामसुरेश यादव, कृषि ज्ञान केन्द्रका अधिकृत रामप्रकाश यादव, गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जय कर्ण, कृषि शाखा प्रमुख सुशिल शर्मा, स्वास्थ्य शाखा फोकल पर्सन हेमन्त शर्माले आएका कुराप्रति जवाफ दिंदै कार्यान्वयनका लागि प्रतिबद्धता गर्नुभएको थियो ।



