
नेपालगन्ज, ३० जेठ – नेपाल सरकारद्वारा (कोभिड–१९) कोरोना भाईरस दोस्रो भेरियन्टलाई नियन्त्रण गर्न लगाईएको लकडाउन (निधेषाज्ञा) ले बाँकेका जनजीवन कष्टकर अवस्थाबाट गुज्रिरहेका छन् ।
हाल नेपाल सरकारद्वारा कोभिड–१९ को चैनलाई ब्रेक गर्न लगाईएको लकडाउनलाई आम सर्वसाधारण जनताले समेत साथ र सहयोग दिएकै कारण बाँकेमा कोरोना भाईरसको संक्रमितहरुको संख्यामा कमी आउनु र भेरी अस्पतालले आजै दिएको तथ्यांक अनुसार ७५ प्रतिशत बेड समेत खाली हुनुलाई सकारात्मक पक्ष मान्न सकिन्छ । तर पनि पुनः संक्रमितहरुको संख्यामा बृद्धि नहोस् भनी त्यसतर्फ समेत सबैको ध्यान केन्द्रित भई स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड आउनु पर्ने कसौधन वैश्य समाजका महासचिव सत्यनारायण वैश्यको भनाई रहेको पाईन्छ ।
सरकारबाट लगाईएको लकडाउनले सबभन्दा बढी पीडा खेपिरहेका आम गरीब गरीखाने वर्गलाई मान्न सकिन्छ भने अर्कोतर्फ देश कै मेरुदण्डको रुपमा रहेको व्यापारी वर्गहरुलाई समेत लिन सकिन्छ । सोही व्यापारी वर्गबाट समेत अब उप्रान्त लकडाउन नलगाई बजार खोज्नु पर्ने आवाज बाँकेमा उठ्न शुरु भईरहेको छ ।
स्वास्थ्य मापदण्ड पूर्ण पालना हुने गरी बजार खोज्नुपर्ने माग कशौधन वैश्य समाजले गरेको छ । आज आईतबार प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाललाई कशौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले ज्ञापन पत्र बुझाउँदै स्वास्थ्य मापदण्ड अपनाई बजार खोज्नु पर्ने माग गरेका छन् ।
कशौधन वैश्य समाजको ज्ञापन पत्रमा “बाँके जिल्लाको सदरमुकाम नेपालगन्ज पूर्व र पश्चिमाञ्चलको व्यापारिक केन्द्र भएको हुँदा नेपाल सरकारद्वारा कोरोना (कोभिड–१९) को संक्रमित चैनलाई ब्रेक गर्न बाँकेमा लगाईएको लकडाउनले संक्रमितहरुको संख्या न्यून भएको अवस्थामा देखिन्छ । हाल विगतभन्दा संक्रमितहरुको संख्या न्यून रहेको र मृत्यु दर समेत न्यून रहेको हुँदा अब उप्रान्त लकडाउन गर्नुपर्ने नदेखिएको हुँदा कोरोना भाईरस बारे नेपाल सरकारद्वारा जारी गरिएको गाईडलाईन व्यवसायीहरुद्वारा पूर्ण रुपमा पालना हुने गरी बजार खोलाउन कसौधन वैश्य समाज नेपालगंज बाँकेले मांग गर्दछ । विगत ४५ दिनदेखि सरकारद्वारा लगाईएको लकडाउनले गर्दा यहाँका आम जनजीवन कष्टकर तथा आर्थिक भारमा पुगेको हुँदा, आर्थिक मसान्त समेत नजिकिएकोले यो लकडाउन बिहान १० बजेदेखि साँझ ७ बजेसम्म स्वास्थ्य मापदण्ड पालना हुने गरी खोलि दिनु हुनको लागि कसौधन वैश्य समाज अनुरोध सहित जोरदार माग गर्दछौं ।” भनी उल्लेख गरिएको छ ।



