
मिति :०७८ जेष्ठ २८ गते
विद्रोही

विद्रोही
भन्ने गरिन्छ जब संकट आउँछ त्यस समय त्यो संकटलाई टार्न तमाम राम्रो विचार राख्नेहरु सक्रिय भई हाल्ने गर्छन् । अहिले कोरोनाको महामारीबाट धेरै जनाको मृत्यु भएको छ यस महामारीबाट तमाम जना जुध्दै छन् । यस समयमा २ महिनादेखि निषेधाज्ञा, लकडाउनको पालन गरी नगरवासी आ–आफ्नो घरमा बस्न बाध्य बनेका छन् । अहिले धेरैजसोहरु बेरोजगार पनि बनि सकेका छन् । व्यक्तिलाई दुई छाक टार्न अहिले गाह्रो भएको समय नेपालगञ्ज मुस्लिम समाज, बाँके र वैदिक संस्कार मान्नेहरु पुनः एक पटक कोरोनाको त्रास कम गर्न अगाडि आएका छन् । नेपालगञ्ज मुस्लिम समाजले २०७६ चैत्र महिनातर्फ पहिलो कोरोनाको संक्रमण फैलिएको समय निरीह, गरीब, विपन्न वर्गका व्यक्तिको घरदैलोमा पुगी सो समय खाद्यान्न राहत स्वरुप वितरण गरेको थियो । अहिले त्यो फेरी निरीह, गरीब, विपन्न वर्गको लागि एक सहारा जस्तो बनेको छ । यस पटक पनि त्यो यस्ता वर्गको घरदैलोमा पुगी खाद्यान्न राहत स्वरुप वितरण गरी रहेको छ ।
गत आइतवार त्यसले नेपालगञ्जको त्रिभुवन चोकमा पुगी कोरोनाको समयमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र बाटो हिँड्ने बटुवामा निःशुल्क रुपमा खाजा र मास्क वितरण गरी सबैतर्फ प्रशंसा बटुलेको छ । यस्तो कार्य गर्ने मुस्लिम व्यक्तित्वहरु छन्, अब्दुल जलील मन्सुरी “मुन्ना”, मेरोज अहमद हलवाई “हिमालय”, प्रवेश अलि अन्सारी, रहिस हलवाई, शकील अहमद हलवाई “बुट गुरुज्ञ”, फिरोज वारसी, बाबु नेता, गुड्डु सिद्दिकी लगायत । त्यस्तैै प्रकारले यहाँको वैदिक सनातन धर्मावलम्बीहरुले महिनौदेखि नगर लगायत ग्रामीण क्षेत्रसम्म विभिन्न जडीबुटी मिश्रित हवन सामाग्रीबाट यज्ञ गरी रहेका छन् । यस यज्ञबाट महामारी रोग साम्य हुने गर्छ यस कारण नेपालगन्ज नगरका प्रायः सबै धर्मावलम्बीहरु मिलेर यस खतरनाक चाइनिज भाइरससँग मुकाबिला गरी रहेका छन् ।
यस्तो यज्ञादि कार्य गर्न सक्रिय छन्, नन्द लाल वैश्य, विजय लाल वैश्य, सुरेन्द्र कुमार वैश्य, श्यामकाजी शाक्य, प्रमोद सोनी लगायतहरु । अहिले एकतर्फ कोरोनाको महामारी छ अर्काेतर्फ त्यससँग लड्ने तमाम योद्धाहरु पनि तयार रहेका छन् । अस्पताल, नसिंग होम, मेडिकल कलेजमा रहेको डाक्टर, नर्स, स्वास्थ्यकर्मीहरु मानव जीवन बचाउन देवदूत झैं काम गरी रहेका छन् । हुन त मानव जीवन बचाउन इमान्दारीले धेरै संख्यामा त्यस्ताहरु लागेका छन् तर कतिपय यस्ता पनि छन् जुनकि बेरामीलाई उपचारको नाममा हदैसम्म लुटी रहेका छन् । यसरी बेरामी महँगो उपचार गराउन बाध्य छन् ।
यहाँको भेरी अस्पतालमा अञ्जनी माता रसोईघरले कोरोना त्रासदीको समयमा उल्लेखनीय कार्य गरी देखाएको छ । यहाँ २० रुपियाँमा भरपेट खान खुवाई अधिकांशहरुलाई राहत दिने काम भएको छ । यस रसोईघरले यो भन्दा बढी मानवीय सेवा कार्य गर्न सकोस् यसको लागि दाताहरुको सहयोगको हात अघि बढेको देखिन्छ । यसरी जब सबैतर्फबाट प्रयास हुन्छ कोरोना अवश्य नै पराजित हुन्छ । यसको लागि सबैले आ–आफ्नो मनोबल उच्च बनाई राख्नु पर्छ ।
नेपालगन्ज मुस्लिम समाज, वैदिक सनातन धर्मावलम्बी र अञ्जनी माता रसोईघर र विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरुले जुन प्रकारले यहाँ मानव सेवा कार्य गरी रहेका छन् यस्तो कार्य अविष्मरणीय रहनेछ । भन्ने गरिन्छ, जब सबैबीच एकता, आत्मीयता र उच्च मनोबल हुन्छ त्यस समय ठूलो भन्दा ठूलो संकट पनि अवश्य हट्छ । सबैतर्फबाट समाज सेवा कार्य हुन थालेपछि नेपालगञ्जमा कोरोनाको संक्रमण ह्वात्तै घटेको छ । केही दिनभित्रै कोरोना अवश्य हट्छ फेरी हामी सुखको क्षणमा पुग्छौं तर यसको लागि केही समय अझै पर्खिनु पर्छ किनकी संक्रमण घटेको छ तर कोरोना भने गएको छैन थोरै असावधानी गर्दै फेरी संक्रमण फैलिने खतरा छ यस कारण सरकारले भ्याक्सिन लगाउन भन्छ भने खोप अवश्य लगाउने, भ्याक्सिनको जबसम्म व्यवस्था हुँदैन तबसम्म सामाजिक दूरीको पालन गर्ने, अनिवार्य मुखमा मास्क लगाउने कार्य जारी राख्नु पर्छ किनकी यही प्रक्रियाको कारण संक्रमण घटेको हो सावधानी हट्दैमा फेरी कोरोनाले विकराल रुप लिन सक्छ त्यसो पनि अब केही दिनमा डेल्टा स्ट्रेनको तेस्रो लहरको कोरोना आउन सक्ने वैज्ञानिकहरुको अनुमान छ ।
यो कहिले आउँछ यकिनसाथ भन्न सकिँदैन यो आओस् नआओस् तर यसबाट सचेत र सावधान बनी राख्नु जरुरी छ किनकी यस दोस्रो लहरको कोरोनाको कारण हामीले आफ्नो धेरै जना प्रियजन गुमाएका छौं यो कुरा कहिल्यै पनि बिर्सन सकिँदैन । तर एउटा सत्य कुरा के छ भने कोरोनासँग लड्न जसरी सबै धर्म, सम्प्रदायका व्यक्ति एक भएर यसको मुकाबिला गरे यस कुराको प्रशंसा हुनै पर्छ । भनिन्छ, एकतामा धेरै बल हुन्छ एकता कै कारण यो महासंकट केही घटेको छ यस्तो एकता सधैं नै रही रहनु पर्छ ।





