
नेपालगन्ज, २६ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाले छिटोभन्दा छिटो सम्पूर्ण नगरबासीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन आवश्यक पहल गर्ने निर्णय गरेको छ ।
नगरप्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बुधबार बसेको नगर कार्यपालिका बैठकले सरकारले अनुमति दिएमा नगरबासीका लागि आवश्यक खोप खरिद गर्ने निर्णय गरेको छ ।

फाईल फोटो
बैठकले हिमानी कोषले नेपालगन्जका लागि आवश्यक जोनसन एण्ड जोनसन कम्पनीको खोप निशुल्क उपलब्ध गराउन प्रस्ताव गरे अनुसार सो प्रस्ताव स्वीकृति गर्ने निर्णय गरेको छ । हिमानी कोषले नेपालगन्जका लागि आवश्यक खोप उपलब्ध गराउन सक्ने प्रस्ताव नेपालगन्ज उपमहानगरपालिकालाई गरेको छ ।
नगर उपप्रमुख उमा थापा मगरका अनुसार छिटोभन्दा छिटो सम्पूर्ण नगरबासीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन उपमहानगरपालिकाले पहल गर्न थालेको हो ।
कोभिड विरुद्धको खोप अन्य संघसंस्थाले पनि उपलब्ध गराउन चाहेमा स्वीकृत दिने बैठकले निर्णय गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालका अनुसार बैठकले सरकारलाई छिटोभन्दा छिटो कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।
