
कम्दी, २५ जेष्ठ – अवैध कब्जा गरी बसेकाहरुलाई आजदेखि बभनपूर्वा सामुदायिक वन, प्रहरी प्रशासनले संयुक्त अपरेशन गरी हटाउन शुरु गरेका छन् ।
बाँके जिल्लाको डुडुवा गाउँपालिका वडा नंं ४ र ५ को सिमानासँग जोडिएको बभनपूर्वा सामुदायिक वन उपभोक्ता समूहको जग्गा कब्जा गरी अवैध रुपमा घर टहरा बनाउनेहरुलाई वनका कर्मचारी, सशस्त्र प्रहरी, जनपद प्रहरी र सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुले हटाउन शुरु गरेका छन् ।
केही दिनदेखि लगातार अवैध रुपमा घर बनाउन खोज्ने एक समूहले सामुदायिक वनको कार्यालय मिलन चोकको ताला तोडी वनका सम्पूर्ण कागजातहरु जलाई दिएको समूहका अध्यक्ष दयाराम यादवले बताउनुभयो ।
यसरी अवैध रुपमा वन अतिक्रमण गर्ने डुडुडा ५ निवासी कमरुद्दिन नाऊ, मन्सुर नाऊ, फुलावा नाऊ, अकबर अली नाऊ, मुल्ला भनिने नैमुद्दिन खाँ रहेका छन् ।
यसैगरी सोही ठाउँमा पक्की घर बनाएका सहजाद अली नाऊ, परिमल बिष्ट, मनोज वि.क., बदलु लोहार, इरसाद खाँ, कुलबहादुर तामाङ्ग, रेशम न्यौपाने, मुस्लिम खाँ समेत रहेका छन् ।
सामुदायिक वनले अवैध कब्जा गर्ने सबै जनालाई पटक–पटक अतिक्रमण क्षेत्र खाली गर्न मौखिक र लिखित पत्राचार गर्दै आएको समूहका अध्यक्ष यादवले बताउनुभयो ।
तर वन कार्यालयले कडा कदम नचाल्दा यस्तो अवैध रुपमा वन अतिक्रमण बढ्दै गएको स्थानीयहरु बताउँछन् । अहिले बभनपूर्वा सामुदायिक वनका वन क्षेत्र व्यापक अतिक्रमणमा रहेका स्थानीय बताउँछन् । वनको पदमपुर क्षेत्रमा बालुवा, मोरङ्ग, गिट्टीका स्थानीय ठेकेदार घनश्याम बुढाथोकीको समेत कब्जा रहेको स्थानीयहरु बताउँछन् ।




