Wednesday, April 15सत्यम खबर
Shadow

राजनीतिक दाउपेच चल्दै जनता कोरोनाबाट मृत्युवरण गर्दै

मिति २०७८ जेष्ठ १० गते

– मनोजकुमार कौशल
नेपाली जनता नयाँ भेरियन्टको दोस्रो वेभको कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट भारी संख्यामा मृत्युवरण गर्दैछन् तर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले राजनीतिक दाउपेच जारी राखी सिंगो मुलुकलाई यस विषम परिस्थितिमा बिचल्लीमा पारेको देखिन्छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीको असक्षमताको कारण नेपाली जनता अक्सिजन सिलिण्डर, कोरोनाको भ्याक्सिन बेगर असमय मृत्युवरण गरी रहेका छन् तर प्रम यस्तो विषम परिस्थितिमा जनताको ज्यान बचाउने ध्यान नदिई एक पटक पुनः प्रतिनिधि सभा विघटन गरी राजनीतिक अन्यौलता थपी दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सहारा लिई उनीले प्रतिनिधिसभा विघटन गरी कार्तिक, मंसिरमा चुनाव गराउन हठ गरेका छन् । अब कार्तिक र मंसिरमा चुनाव हुने भएको छ । यस महिनामा चुनाव हुनै सक्दैन किनकी कोरोनाको दोस्रो वेभपछि तेस्रो वेभको पनि कोरोना आउने वैज्ञानिकहरुले भनेका छन् । प्रम ओलीको तेस्रो वेभको कोरोनाबाट बचाउने कुनै तयारी छैन तर पनि उनीले आगामी हुने चुनावमा आफ्नो पार्टीले २ तिहाई बहुमत ल्याउने बकमफुस्से बकवास गर्नमा लागेका छन् । अहिले नेपाली जनताको अक्सिजन सिलिण्डरको अभाव झेली रहेका छन् यसमा दोस्रो चरणको कोरोना भ्याक्सिन कमीशनको खेलको कारणले आउन नसकेकोले यस्तो राजनीतिक पार्टीलाई पुनः २ तिहाई बहुमत जनताले कसरी दिने हुन् यो कुरा हेर्नुचाहिँ बाँकी छ तर जसरी प्रमले एक पटक पुनः प्रतिनिधिसभा विघटन राष्टपति विद्यादेवी भण्डारीलाई आफ्नो हातमा पारी गरेका छन् यसबाट राजनीतिक अन्यौलता अझ गहिरिँदै गएको छ । देशमा कोरोनाको कारण निषेधाज्ञा, लकडाउन हुने थिएन भने प्रतिनिधिसभा बचाउन जनता सडकमा अवश्य ओर्लने थिए तर सडकबाट विरोध गर्ने अहिले स्थिति छैन यस कारण प्रतिनिधिसभा पुनःस्थापनाको लागि सर्वाेच्च अदालतको ढोका अवश्य घच्घच्याइने छ सत्तासीन राजनीतिक दल जनताको हितको ध्यान नदिएपनि सर्वाेच्च अदालत जनताको हितमा अवश्य कुनै फैसला दिनेछ यसबाट प्रतिनिधिसभा पुनःस्थापित हुने प्रबल सम्भावना छ तर यसबीच जनताको पीर मर्का अवश्य थपिँदै जाने छ । मुलुकमा भारतभन्दा बढी कोरोनाको अहिले संक्रमण छ प्रतिशतको दरले नेपालमा भारतभन्दा बढी संख्यामा व्यक्तिको मृत्यु भएको देखिन्छ यस समय सरकारले अब अक्सिजन सिलिण्डरको अभाव हुन नदिने, अस्पतालमा पर्याप्त बेडको व्यवस्था, आइसियु, भेन्टिलेटर लगायत थप्दै चाँडै सबैको पीसीआर जाँच र सबैलाई भ्याक्सिन लगाउने कार्य गर्नुपथ्र्याे तर यो सरकार जसरी रोम जली रहेको समय त्यहाँका शासक निरो बाँसुरी बजाइ रहेका थिए त्यस्तो कार्य गरी रहेको छ । कोरोनाको अगाडि सरकारले आफ्नो दुवै हात माथि खडा पारेको देखिन्छ । जसरी भएपनि प्रधानमन्त्रीको कुर्सीबाट टाँसी रहने मानसिकताले गर्दा आगामी समय आउने कोरोनाको संक्रमणबाट अरु नेपाली जनता भारी संख्यामा मृत्युवरण गर्ने सम्भावना बढी रहेको छ ।
छिमेकी देश भारतमा कोरोनाको संक्रमण निरन्तर रुपमा घट्दै गएको छ त्यहाँको सरकार कोरोनाको तेस्रो वेभबाट आफ्नो सबै जनतालाई बचाउन भ्याक्सिन लगाउने अभियान नै छेडी सकेको छ तर नेपाल सरकारले त्यस्तो कार्य गर्ने कुनै तयारी गरेको छैन । यस कारण आगामी समय कोरोनाको तेस्रो वेभबाट अधिकांश रुपमा नेपाली जनता ठूलो जोखिममा पर्ने अनुमान छ किनकी सिंगापुरबाट फैलिँदै तेस्रो वेभको कोरोना मुलुकमा प्रवेश गरी सकेको छ भारतमा ब्लैक फंगस र व्हाइट फंगसबाट व्यक्ति संक्रमित बन्दै गएपछि यो ब्लैक फंगस र व्हाइट फंगस नेपालमा पनि फैलिने खतरा छ । ब्लैक फंगसबाट आँखाको ज्योति हराउने हुन्छ व्हाइट फंगसबाट फोक्सो संक्रमित हुने र पछि बंगारा नै झर्ने, टाउको दुख्ने हुन्छ । यस्तो संक्रमण यहाँ नफैलियोस् यसको तयारी हामीकहाँ छैन । यस कारण अहिलको विषम परिस्थितिमा प्रतिनिधिसभा बचाउनु आवश्यक छ अन्यथा यस्तो राजनीतिक अन्यौलताको कारण समस्या अझै थपिने छ । वर्तमान समय एकतर्फ जनता कोरोनाबाट संक्रमित छन् भने अर्काेतर्फ सिंगो देश कोरोना भन्दा बढी खतरनाक भाइरस स्वार्थप्रेरित राजनीतिबाट संक्रमित बनेको छ । यस विद्यमान राजनीतिक अन्यौलताको कारण अन्ततः देश र जनताको नै हानी नोक्सानी हुनेछ । यस्तै स्थिति विद्यमान रही रहन्छ भने अब जनताले राजनीतिक दल, वर्तमान व्यवस्थामाथि भर पर्नु हुँदैन । अब अर्काे परिवर्तन ल्याई देश र जनतालाई संक्रमणबाट मुक्त गराउनुपर्ने आवश्यक भइ सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *