नेपालगन्ज, ५ जेष्ठ – सद्भावको शहर भनेर त्यतिकै कहाँ चिनिएको होला नेपालगन्ज । सद्भावपूर्ण कार्य गरेर मात्र देश मै चिनिएको हो नेपालगन्ज । हाल कोभिड–१९ कोरोना भाईरसको मारखेपी रहेको बाँके जिल्ला र खास गरी नेपालगन्जमा कोरोना संक्रमित बिरामीहरुको चाप अत्याधिक बढेसँगै यस सद्भावप्रेमी शहरका सहयोगी हातहरुले आ–आफ्नो स्तरबाट अगाडी आईरहेका छन् ।
नेपालगन्जमा भएका पत्रकार पनि के कम सहयोगी हातहरुको हातमा हात मिलाउन सकारात्मक पहल कदमी गरिरहेको हाल देखिंदै आईरहेको छ । चाहे अनलाईन पत्रकार संघ होस् वा अवधी पत्रकार संघ नेपाल होस् आफ्नो स्तरबाट गर्ने कार्यहरुलाई निरन्तरता दिईरहेका छन् ।
आफ्नो सहकर्मी साथीहरुको लागि मास्क, सेनिटाईजर, अक्सिजन ग्यास, खाद्यान्न लगायतको व्यवस्थापन गर्दै आईरहेका पत्रकारहरुको संघबाट आज पुनः मानवीय सेवामा समर्पित भई अनलाईन पत्रकार संघले गरेको कार्य सराहनीय भएको भेरी अस्पताल कै कुरुवा जनक सिंहले बताउनुभयो ।
अनलाईन पत्रकार संघले कोरोना संक्रमित बिरामीलाई लक्षित गरि साता ब्यापी रक्तदान कार्यक्रमको शुभारम्भ आज बुधबारबाट गरेको छ । बाँकेमा कोभिड–१९ कोरोना संक्रमितहरुको चाप बढेसँगै कोरोना संक्रमित बिरामीलाई रगत अभाव नहोस् भनी अग्रसरता देखाउँदै साता ब्यापी रक्तदान कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष कमल न्यौपानले बताउनुभयो ।
अध्यक्ष न्यौपानेका अनुसार संकलित रगत कोरोना संक्रमित बिरामीहरुलाई दिईनुका साथै अन्य बिरामीलाई समेत दिन सकिने बताउनुभयो । रगत अभावमा बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको उनले बताए । उनले रक्तदान जस्तो पुण्य कार्यमा सहभागी हुन उपमहानगरबासीहरुमा अपिल समेत गरेका छन् ।