
नेपालगन्ज, ३ जेष्ठ – कोभिड–१९ को महामारीबाट बाँकेलगायत स्थान कोरोना संक्रमितहरुबाट ग्रसित रहेको बेला वडा नं. ६ का वडाअध्यक्ष समिरप्रताप सिंह आफै स्वास्थ्यकर्मीहरुको टीम सहित वडामा भएका कोरोना संक्रमितहरुको घरदैलोमा पुगेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा करीब ३४ जना कोरोना संक्रमितहरु रहेको फोकलपर्सन गणेश के.सी.ले जानकारी गराउनु भएको छ । कोरोना संक्रमितहरुको अवस्था के कस्तो छ भनी दैनिक फोनमार्फत अपडेट रहँदै आईरहेको जानकारी गराउँदै फोकलपर्सन के.सी. कोरोना संक्रमितहरुको स्वास्थ्यमा जटिल समस्या भएको बेला डाक्टरसहितको टीम घरमा पुगेर हालसम्म सेवा दिंदै आईरहेको बताउनुभयो ।

डा. शंकर केसीको नेतृत्वमा ५ जना स्टाफ नर्ससहितको टीम आज सोमबार वडा नं. ६ का कोरोना संक्रमितहरुको घरदैलोमा पुगेको छ । उक्त टीमबाट कोरोना संक्रमितहरुको पाल्स चेकजाँद, हाल उनको अवस्था, अन्य समस्यालगायतको जानकारी लिईएको होलिस्टीक होम केयर सेन्टर नेपालगन्जका स्टाप नर्स सुमन गिरी थापाले बताउनुभयो ।

घरदैलोमा पुगी कस्तो सेवा प्रदान गरिरहेको बारे कोरोना संक्रमितहरुसित जानकारी लिंदा उहाँले “हाल यस वडा नं. ६ द्वारा गरिएको कार्य प्रशंसा योग्य रहेको छ । हामी काठमाण्डौबाट यहाँ आएको हुँदा हामीलाई के कसरी गर्नु पर्छ केही जानकारी नभएको तथा बेला–बेला यहाँ फोकलपर्सन के.सी.ले फोन गरी सम्पूर्ण व्यवस्थापन गरिदिएको हुँदा केही समस्या नभएको तथा आज घर मै आएर के कस्तो समस्या छ भनी जानकारी माग्दा हामी अत्यन्त खुशी छौं ।” भनी बताउनुभयो ।

स्टाप नर्स गिरीका अनुसार आज ११ घरमा कोरोना संक्रमितहरुको अवस्था बारे जानकारी लिएको जसमा करीब २५–३० जना कोरोना संक्रमितहरु रहेका थिए । उनीहरुलाई उपलब्ध गराउनु पर्ने औषधि र जानकारी दिईएको बताउनुभयो ।
वडा नं. ६ बाट छुट्टै बजेट विनियोजित गरी कोरोना संक्रमितहरुको लागि प्रयोग गरिएको छ । जस मध्ये एक घर भिजिट गरेवापत टीमलाई १ हजारका दरले आर्थिक प्रदान गरिने वडाअध्यक्ष सिंहले बताउनुभयो ।
