
नेपालगन्ज, २ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखिएको जनाएको छ । उपमहानगरपालिकाले आईतबार आयोजना गरेको पत्रकार भेटघाटमा नगर प्रमुख डा. धवलशम्शेर राणाले यसपटक स्वास्थ्य उपचार र सेवामा बढि ध्यान दिइए बताउँदै अगामी बजेट पनि सोही अनुसार ल्याउने तयार गरेको जानकारी गराउनुभयो ।
सञ्चारकर्मीहरुद्वारा प्रमुख डा. राणालाई सोधिएको प्रश्नको जवाफ दिंदै भन्नुभयो– “नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित सम्पूर्ण आईसोलेसन वार्डहरुलाई संक्रमितहरुको अवस्था वा आईसोलेसन वार्डद्वारा निर्धारित मापदण्ड अनुसार भर्ना गरी उपचार गराउन कसैको सिफारिस आवश्यक नभएको तथा देश भित्रका कोही पनि कोरोना संक्रमित भर्ना गरी उपचार गराउन सकिने बताउनुभयो ।”
यसैगरी प्रमुख डा. राणाले जिल्लाभरका अस्पतालहरुमा अक्सिजन अभाव हुन नदिन र अन्य उपचार व्यवस्थापनका लागि सहजीकरण गरिरहेको जानकारी गराउँदै आगामी दिनमा पनि कोभिड नियन्त्रण र रोकथामका लागि प्रभावकारी कार्यक्रम ल्याएर अघि बढ्ने योजना बनाएको बताउनुभयो । डा. राणाले भन्नुभयो– “कोभिड विरुद्ध लड्न सबै पक्षबीच सहकार्य हुन जरुरी छ ।” उहाँले नगरभित्र सञ्चालित आईसोलेसनले अस्पताललाई सहयोग पुगेको बताउनुभयो ।
कार्यक्रममा वडा नं. १ का वडाअध्यक्ष तथा नेपालगन्ज उपमहानगरपालिका प्रवक्ता प्रमोद रिजालले नेपालगन्ज उपमहानगरपालिकाद्वारा कोभिड–१९ संकट रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि भएको प्रयासहरु बारे प्रेस नोट पढेर सुनाउनु भएको थियो ।
प्रवक्ता रिजालद्वारा वाचन गरिएको प्रेम नोटमा नेपालगन्ज उपमहानगरपालिकाले गतवर्षदेखि नै कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रयासरत रहँदै आएको छ । जनप्रतिनिधी र कर्मचारीको कोभिड कै कारण निधन भएको छ । धेरैजना संक्रमित भएपनि निरन्तर कोभिड रोकथाम र नियन्त्रणका लागि विभिन्न कामहरु भईरहेका छन् । हालसम्म यहाँ कार्यरत एकजना जनप्रतिनिधी र २ जना कर्मचारी गरि ३ जनाको निधन भएको छ । स्वास्थ्यकर्मी, जनप्रतिनिधी र सरसफाईकर्मी गरि १ सय ५९ जनामा कोभिड संक्रमण भएको जानकारी गराउनुभयो ।
यसैगरी, कोभिड रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य जनशक्ति अभावको अवस्थालाई मध्यनजर गर्दै उपमहानगरमा ५४ जना स्वास्थ्यकर्मी करारमा भर्ना गरिएको छ । ति मध्ये १५ जना भेरी अस्पतालमा कार्यरत रहनुका साथै अन्यलाई जमुनाहस्थित हेल्थडेस्क, आईसोलेसन र वडास्थित स्वास्थ्य कार्यालयमा परिचालन गरिएको बताउँदै हालसम्म उपमहानगरबाट गरिएको सम्पूर्ण कार्यहरु समेत जानकारी गराउँदै कोभिड रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण नगरबासी सहित आम जनसमुदायबाट साथ, सहयोग र सुझावका लागि हार्दिक अनुरोध गरेका छन् ।
पत्रकार भेटघाटमा उपप्रमुख उमा थापा मगर, वडा नं. २ का वडाध्यक्ष सुनील सिंह हमाल, वडा नं. १८ का वडाध्यक्ष दिपक वर्मा लगायतको सहभागिता थियो भने कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार गोबिन्द शर्माले गर्नु भएको थियो ।



