Sunday, April 26सत्यम खबर
Shadow

नेपालगन्जमा कोभिडबाट ६ हजार जना संक्रमित, ४३ को मृत्यु

नेपालगन्ज, १९ बैशाख – नेपालगन्ज उपमहानगरपालिकाभित्र हालसम्म करिब ६ हजार जनामा कोभिड संक्रमण देखिएको छ । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार २ हजार ५ सय ६९ महिला र ३ हजार ३ सय ८२ जना गरि ५ हजार ९ सय ६१ जनामा कोभिड संक्रमण देखिएको छ । कोभिड भएका मध्ये १ हजार ४ सय ९१ महिला र २ हजार १ सय ३० जना पुरुष गरि ३ हजार ६ सय २१ जना डिस्चार्ज हुनुभएको छ ।


उपमहानगरपालिकामा कोभिडबाट हालसम्म १९ महिला र २४ पुरुष गरी ४३ जनाको निधन भएको हो । आईतबारसम्म १ हजार १ सय ७२ जना महिला र १ हजार ३ सय ३७ जना पुरुष गरी २ हजार ५ सय ९ जना सक्रिय संक्रमित रहनुभएको छ । सक्रिय संक्रमितहरु सबै बैशाख ९ गतेपछि संक्रमण देखिएका हुन् । कोरोना रोकथाम र नियन्त्रणका लागि नगरभित्र प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको नगर प्रमुख डा. धवलशम्शेर राणाले बताउनुभयो ।
उपमहानगरपालिकाले राज्यका विभिन्न निकाय र गैरसरकारी संघ संस्थासँग मिलेर रोकथाम र नियन्त्रणको अभियान चलाईरहेको छ । ह्वाईटहाउसमा सामान्य आईसोलेसन र रामलिला मैदानस्थित तालिम केन्द्रमा अक्सिजन सहितको आईसोलेसन केन्द्र सञ्चालन गरेको छ ।
आईसोलेसनमा चिकित्सकसहितको दक्ष जनशक्तिको व्यवस्थापन गरिएको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । शंकाष्पद ब्यक्तिहरुको पिसिआर परीक्षणको व्यवस्था उपमहानगरपालिकाले गरेको छ । जमुनाहमा होल्डिङ सेन्टरका लागि समन्वय गरिएको छ । जमुनाह मै हेल्थडेस्क सञ्चालन गरिएको हो ।
होम आईसोलेसनमा बस्नेहरुका लागि प्रत्येक वडामा स्वास्थ्यकर्मी खटाइएको छ । भेरी अस्पतालमा विरामी कुरुवाहरुको सहजताका लागि खानाको व्यवस्थापन गरिरहेको अञ्जनी माता रसोईलाई मासिक ५० हजार रुपियाँ सहयोग गरिरहेको छ ।
कोभिडका विरामी ल्याउन लैजान निशुल्क एम्बुलेन्सको ब्यवस्था गरिएको भन्दै उपप्रमुख मगरले कोभिड रोकथाम र नियन्त्रणका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *