
नेपालगन्ज, १७ बैशाख – नेपालगन्ज उपमहानगरपालिकाले निर्माण गरेको असिक्जन सहितको आईसोलेसन केन्द्र शुक्रबारदेखि सञ्चालनमा आएको छ । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा नेपालगन्जको रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० सैय्याको आईसोलेसन केन्द्र सञ्चालनमा आएको छ ।
केन्द्रको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमवहादुर राना, स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाहको उपस्थितीमा आईसोलेसन केन्द्रको सञ्चालन भएको हो । नगर प्रमुख राणाले आईसोलेसन केन्द्र सञ्चालनमा आएपछि भेरी अस्पतालको चाप कम गर्न सहयोग पुग्ने बताउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले कोरोना संक्रमण समुदायस्तरमा देखिएको भन्दै यसको रोकथाम र नियन्त्रणका लागि जिल्लाबासी सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो । उपप्रमुख उमा थापा मगरका अनुसार आईसोलेसनमा बस्नेहरुलाई खाना र खाजाको समेत व्यवस्था गरिएको छ भने बिरामी ल्याउनका लागि निशुल्क एम्बुलेन्स सेवा समेत दिइनेछ ।
उपमहानगरपालिकाका २३ वटै वडामा रहेका होम आईसोलेसन फोकल ब्यक्तिहरुको सिफारिसका आधारमा संक्रमितहरुलाई आईसोलेसनमा राखिने जनाईएको छ ।
