
नेपालगन्ज, १६ बैशाख – नेकपा एमाले बाँकेले कोभिड संक्रमण भई अस्पतालमा उपचारका लागि आएका विरामीहरु मध्ये विपन्न तथा असहायहरुका लागि वेडको खर्च व्यहोर्ने भएको छ ।
कोभिड महामारीको बढ्दो संक्रमणले बाँके जिल्ला आक्रान्त बनिरहेको बेला नेकपा एमाले बाँकेले गरिव तथा विपन्न समुदायका ब्यक्तिहरुको उपचारमा सहयोग पु¥याउन दैनिक १० बेडको खर्च सहयोग गर्ने भएको छ । आर्थिक रुपले गरिब, विपन्न परिवारका व्यक्तिहरुले प्रयोग गरिरहेको अक्सिजन सहितको १० बेड सहयोग गर्न लागिएको एमाले बाँकेका सचिव रत्न खत्रीले बताउनुभयो ।

यसका लागि एमाले बाँकेलाई जिल्ला कमिटि सदस्यहरु तथा पार्टी कार्यकर्ताहरुबाट करिब ७ लाख सहयोग प्राप्त भएको छ । एमाले नेता अव्दुल हुसेन खाँका अनुसार शिक्षण अस्पताल कोहलपुरमा हरेक दिन १० वटा अक्सिजन सहितको बेडको खर्च व्यहोर्ने निर्णय भएको छ ।
सरकारले सबै कोभिड विरामीहरुको सम्पूर्ण रुपमा निशुल्क उपचार गराउनुपर्ने दायित्वलाई सम्झाउन पार्टीले यो अभियान सञ्चालन गरेको एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले बताउनुभयो ।
जिल्लाको एकमात्र सरकारी अस्पताल भेरीले माग धान्न नसकिरहेको र निजी तवरबाट सञ्चालन भइरहेको मेडिकल कलेज कोहलपुरमा सरकारले सबै खर्च उपलव्ध नगराइरहेको अवस्था रहेको छ ।
यो अभियानका लागि एमाले बाँकेले पार्टी नेता दलबहादुर सुनार र अशोक कोइराला संरक्षक तथा सचिव रत्न खत्रीको संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ ।
संयोजक रत्न खत्रीले यो अभियानमा जोडिन सम्पूर्ण पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरुलाई आह्वान गर्नुभएको छ ।
