
विद्रोही
नेपालगन्ज, १३ बैशाख – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ मा लक्ष्मी चलचित्र मन्दिर नेपालगन्जको नै पुरानो फिल्महल हो । यहाँको दक्षिणतर्फ र लक्ष्मी चलचित्र मन्दिरको पश्चिमतर्फ फोहोर पानी बग्ने पुरानो ठूलो नाला रहेको छ ।
यो नाला न्यूरोडको पूर्वतर्फ रहेको नालासाग जोडिएको छ । अहिले कोभिड–१९ कोरोना भाईरसको कारण बैशाख २० गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ । यस समयमा न्यूरोडको नजिक रहेका अधिकांश धनाढय सेठहरु रातारात यहाँ पिलर हालेर सेफ्टी ट्यांक निर्माण गरी करीब ३ कठ्ठा जमिन कब्जा गरिरहेको देखिएको छ ।

यसअघि उनीहरुले आफ्नो घर बनाउँदा यो खाली जमिनमा कुनै प्रकारको निर्माण विकास कार्य गरेका थिएन । तर अहिले निषेधाज्ञाको मौका छोपी उनीहरु करोडौ मूल्यको ऐलानी जग्गा कब्जा गरिरहेका छन् । यस सम्बन्धमा नेपालगन्ज उद्योग वाणिज्यका संघका निवर्तमान अध्यक्ष र कसौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यसँग यस अतिक्रमणको बारेमा जानकारी लिन खोज्दा उहाँले भने– “त्यस ठाउँमा मेरो पनि जमिन छ, तर त्यस खाली जमिनमा घर बनाउन सकेको छैन । यस बीच केहीहरुले आफ्नो जग्गा बढाउँदै नाला सांघुरो पारिरहेका छन् । अब त्यहाँ एक मिटरको नाला मात्र बचेको छ । यसकारण बढ्दो जन्मसंख्याका अनुसार यसनालाबाट यथोचित पानी बग्न सक्दैन । नालालाई फराकिलो पार्न लक्ष्मी चलचित्र मन्दिरले पनि एक मिटर जति जमिन छोडे दुई मिटरको नाला बन्न सक्छ । जसबाट पानी राम्रै बग्न सक्छ भनी बताउनुभयो ।”

यस जमिन अतिक्रमण बारे नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का वडाअध्यक्ष अय्युब सिद्दिकीसँग कुरा गर्न खोज्दा पहिले त उनीले वडा समिति कार्यालयमा पुग्नुस् यस सम्बन्धमा कुरा गर्छु भने तर सत्यम खबर डटकमको सर्भे टीम वडा समिति कार्यालयमा पुग्दा उनी वडा समिति कार्यालय नै छोडेर भागे र कुरा गर्न पन्छिन खोजे । पछि उनीले मोबाईल फोनबाट जानकारी गराउँदै भने सो जमिन नयाँ नापीमा घरधनीहरुको रहेको देखियो, यसकारण म यस बारेमा धेरै बोल्न सक्दैन उनले भने ।

न्यूरोडदेखि उत्तरतर्फ गणेशपुरसँग जोडिएको नाला करीब ६ मिटरको छ । यसकारण यो जमिन नापी कार्यालयलाई आफ्नो अनुचित स्वार्थमा लिई आफ्नो रहेको देखाउन घरजग्गा धनीहरु सफल भएका छन् । यस सम्बन्धमा अहिलेसम्म नेपालगन्ज उपमहानगरपालिकालाई केही कुराको जानकारी नरहेको पाईएकोले सम्बन्धितहरुले यस जमिनको बारेमा छानबिन गरी अहिलेसम्म भईरहेको निर्माण कार्य माथि तत्काल रोक लगाउनु पर्ने जरुरी रहेको देखिन्छ ।
