Saturday, November 23सत्यम खबर
Shadow

आन्दोलन गर्ने तयारीमा लेखापढी व्यवसायी संघ

नेपालगन्ज, ३० चैत – जिल्लामा रहेका लेखापढी व्यवसायीहरु संगठित हुँदै भूमि सुधार तथा मालपोत कार्यालयसँग सूचना माग गरेका छन् । नेपालको संविधान र प्रचलित लेखापढी व्यवसायी ऐनले गरेको व्यवस्था अनुसार पेशा रोजगार गर्न पाउने भन्दै एक संघर्ष समिति गठन गर्दै सूचना माग गरेका हुन ।

भूमिसुधार तथा मालपोत कार्यालय बाँकेले चैत २५ गते एक निर्णय गर्दै भूसेवा केन्द्रले तयार गरेको लिखत तथा निवेदनहरु लिई आउनेहरुको मात्र काम हुने सूचना जारी गरेपछि भूसेवा केन्द्रमा दर्ता नभएका लेखापढी व्यवसायीहरु मर्कामा परेको बताएका छन् ।

हाल जिल्लामा २८ जना लेखापढी व्यवसायीहरु व्यक्तिगत र संस्थागत रुपमा भूसेवा केन्द्र दर्ता गराएका छन् । भू व्यवस्थापन तथा अभिलेख विभागले अपरझट तथा छोटो समयमा सूचना जारी गरेर भूसेवा केन्द्र दर्ता गराउन भनेको तर प्रयाप्त समयको अभावमा जिल्लामा दुई सय बढी लेखापढी व्यवसायीहरु यसबाट बञ्चित भएका छन् ।

लेखापढी व्यवसायी संघर्ष समितिका अध्यक्ष टंकबहादुर बस्नेतले भूमिसुधार तथा मालपोत कार्यालय बाँकेमा सूचनाको हक प्रयोग गर्दै चैत २५ गते भुमि सुधार तथा मालपोत कार्यालयले गरेको निर्णय तथा भूसेवा केन्द्र सञ्चालन निर्देशिका २०७६ को प्रतिलिपि उपलब्ध गराउन समेत माग गरेका छन् ।

यस्तै गरी, भूसेवा केन्द्रका लागि अनुमति नलिएका अन्य लेखापढी व्यवसायीहरुले तयार गरेको लिखत र निवेदन पत्रहरु यस कार्यालयबाट सेवा प्रवाह हुने नहुने, पेशा व्यवसाय गर्न पाउने कि नपाउने लगायतको सूचना समेत उपलब्ध गराउन माग गरेका छन् ।

भूमिसुधार तथा मालपोत कार्यालय बाँकेले बैशाख २ गतेदेखि भूसेवा केन्द्रले तयार गरेको लिखत तथा निवेदनहरु लिएर आएकाहरुको मात्र काम हुने सूचना जारी गरेपछि संघर्षमा उत्रिएका लेखापढी व्यवसायीहरु यसअघि गर्दै आएको प्रक्रिया अनुसार काम गर्न नपाए वा भूसेवा केन्द्रमा दर्ता हुन थप समय उपलब्ध नभए आन्दोलन गर्ने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *