व्यापार पनि सोचेभन्दा बढी भएको व्यवस्थापनद्धारा जानकारी
नेपालगन्ज, १७ फागुन । पश्चिम नेपालकै प्रमुख आर्थिक केन्द्र नेपालगन्जको कारकाँदोमा शुक्रवारबाट सञ्चालनमा आएको देशकै चर्चित भाटभटेनी सुपर मार्केटमा पहिलो दिननै चालिस हजार भन्दा बढी सर्वसाधारण पुगेको व्यवस्थापनले जनाएको छ ।
सञ्चालनको पहिलो दिन शुक्रवारनै अनुमान भन्दा पनि धेरै बढी चालिसदेखि पचास हजार सर्वसाधारण सो सुपर मार्केटमा पुगेको सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराईले बताउनु भयो ।
उहाँले ती मध्ये एक चौथाई जति भारतीय उपभोक्ता रहेको जनाउँदै पहिलो दिननै भारतबाट समेत धेरै संख्यामा सर्वसाधारण आएकोले आफूहरु उत्साहित भएको बताउनु भयो ।
पहिलो दिननै अनुमान गरेभन्दा बढी व्यापार समेत भएको जनाउँदै व्यवस्थापक भट्टराईले यस क्षेत्रका सर्वसाधारणले देखाएको माया र विश्वासका कारण यसको भविष्य उज्ज्वल देखिएको बताउनु भयो ।
शनिवार पनि विहानैबाट सो सुपर मार्केटमा आउने सर्वसाधारणको घुंईचो लागेको जनाउँदै उहाँले शनिवार झनै बढी मानिसहरु आउने अनुमान गरिएको बताउनु भयो ।
सीमापारी जाने उपभोक्ता पहिलो दिननै धेरै घटेको सूचना आएकोले सुपर मार्केट आफ्नो उदेश्यमा सफल भएको व्यवस्थापनको निष्कर्श छ ।
डेढ अर्बको लगानीमा निर्माण गरिएको ‘भाटभटेनी सुपर मार्केट’ को १८ औं शाखा शुक्रवार विहानबाट नेपालगञ्ज–१८ कारकाँदोमा सञ्चालनमा आएको थियो ।
सो सुपर मार्केटको भाटभटेनी सुपर मार्केटका अध्यक्ष मिन बहादुर गुरुङले शुभारम्भ गर्नुभएको थियो ।
उपभोक्तालाई आवश्यक पर्ने सबै सामान एकै छातामुनि उपलब्ध गराउने उदेश्यका साथ सञ्चालनमा ल्याईएको सो सुपर स्टोरमा काठमाण्डौकै मूल्यमा विभिन्न सामानहरु उपलब्ध गराइने तथा सीमापारी भन्दा पनि सस्तोमा धेरै सामान उपलब्ध गराइने अध्यक्ष गुरुङले बताउनु भएको थियो ।
यो स्टोरले यहाँको जनसंख्या र आवश्यकतासँगै आम उपभोक्ताको गुणस्तरीय एवम् ब्राण्डेड सामाग्री प्रतिको बढ्दो रुची तथा हरेक सामानका लागि संघिय राजधानी काठमाण्डौ वा सिमा पारीका बजारमा जानैपर्ने बाध्यतालाई समाप्त पार्ने विश्वास गरिएको छ ।