चन्द्रेश्वर राज त्रिपाठी
नेपालगंज/असार– दशकौदेखि फुल्टेक्रामा रहेको ताललाई लिएर विवाद हुँदै आएको भएतापनि अब उक्त विवाद समाधान हुने निश्चित भएको छ । सोही फुल्टेक्रा तालको मुहार फेर्ने सोचका साथ नेपालगन्ज उपमहानगरपालिका र वडा नं. ६ ले बृहत योजना साथ अगाडी आएका छन् ।
फुल्टेक्रामा रहेको तालको जग्गालाई धेरैले कब्जा समेत गरी बसेका छन् । तर अब ती कब्जामा रहेको जग्गा समेत सरकारी नापीबाट पुनः सरकार कै अधिनमा आउने निश्चित देखिन्छ ।
बाँके जिल्लालाई खेलाडीको शहर भनेर समेत चिनिने गरिएको छ । यस बाँके जिल्लाबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिएको इतिहास हामी सामु रहेको पाईन्छ । यस इतिहासलाई कायम राख्न नेपालगन्ज उपलमहानगरपालिका र वडा नं. ६ ले पाईला चाल्ने भएका छन् ।
विगत केही महिना अगाडी क्रिकेटको स्टेडियन बनाउन जग्गाको खोजी गर्न नेपालगन्ज उपमहानगरपालिकाबाट वडा नं. २ का वडा अध्यक्ष सुनिलसिंह हमालको अध्यक्षतामा ७ सदस्यीय टोली गठन गरिएको थियो । सोही टोलीको प्रतिबेदन फुल्टेक्रा कै जग्गा क्रिकेट स्टेडियमको लागि उपयुक्त हुने नेपालगन्ज उपमहानगरपालिकामा बुझाइएको वडाअध्यक्ष समिर प्रतास सिंहले बताए ।
त्यस प्रतिवेदन कै आधारमा नेपालगन्ज उपमहानगरपालिका बाट करीब ११ विद्या ३ कठ्ठा जग्गामा माटो पटान गर्ने भनेर १ करोड रुपैयाँ समेत विनियोजित गरिएको छ । कोभिड–१९ ले गर्दा सो काम अलि ढिलो हुन जाने अनुमान मात्र गरिएको छ । तर काम अब आउने दिनमा सम्पन्न गराउने वडाअध्यक्ष सिंहले बताए ।