Monday, April 13सत्यम खबर
Shadow

एपिएफ सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप च्याम्पियन

नेपालगन्ज, २५ फागुन – साविक विजेता नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै विभागीय टोली नेपाल एपिएफ क्लब सातौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
मंगलबार नेपालगन्जस्थित रंगशाला परिसरमा रहेको कभर्डहलमा भएको उपाधि भिडन्तमा एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । एपिएफले उपाधि जित्ने क्रममा अपराजित रहँदै १२ अंक जोड्यो । पराजित पुलिसले ८ अंक जोड्यो । यससँगै एपिएफले गतवर्ष भोगेको हारको बदला र यसै महिनाको सुरुमा पोखरामा सम्पन्न टाइगर कप आमन्त्रण भलिबलमा दुई खेलमा भोगेको हारको बदला समेत लिन सफल भएको छ ।


एपिएफले वर्षको पहिलो उपाधि जित्दा गत फागुनमा पर्वतमा भएको दिदी बहिनी कपपछि उपाधि हात पारेको हो । एपिएफविरुद्ध सबै तीन सेटमा अग्रता लिएर पनि जोगाउन नसक्दा पुलिस उपविजेतामा सीमित बन्न पुग्यो । सुरुवाती देखि नै उत्कृष्ट प्रतिस्पर्धा भएको खेलमा पुलिस अन्तिम समय चुक्न पुग्यो । पहिलो सेटमा एक समय १६–१६ को बराबरी अवस्थाबाट एपिएफले लगातार चार अंकको अग्रता लिँदै २५–२२ ले जितेको थियो । निकै प्रतिस्पर्धात्मक दोस्रो सेटमा एपिएफले २५–२१ ले जित हात पा¥यो । २१–२१ को बराबरी अवस्थाबाट एपिएफले लगातार चार अंक जोड्दै सेट जित्दै उपाधि नजिक पुग्यो ।
तेस्रो सेटमा पनि निकै प्रतिस्पर्धात्मक बनेको थियो । १०–१० को बराबरी अवस्थाबाट पुलिसले लगातार तीन अंक जोड्दै अग्रता लिएको थियो । तर त्यसलाई निरन्तरता दिन सकेन । एपिएफले उत्कृष्ट पूनरागमनका साथ पुन पाँच अंकको अग्रता लिँदै २०–१५ अवस्थामा पगेपछि एपिएफले तेस्रो सेटमा पुलिसलाई २५–१९ ले हराउँदै उपाधि जित्न सफल भयो । अन्तिम खेलमा एपिएफको जितमा स्पाइकर सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गरिन् । उनी खेलको प्लेयर अफ दि म्याच चुनिइन् ।


उपाधिसँगै एपिएफले ५ लाख नगद प्राप्त गरे । दोस्रो भएको पुलिसले २ लाख रुपैयामा चित्त बुझायो । तेस्रो भएको होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले १ लाख तथा तेस्रो भएको त्रिभुवन आर्मी क्लबले ५० हजार रुपैया हात पा¥यो ।
विजयी तथा उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा, उपमेयर उमा थापा, लुम्बिनी प्रदेश सांसद कृष्णा केसी ‘नमुना’, केएल दुगड ग्रुपका महाप्रवन्धक प्रदीप छाजेड, बाँकेका आठ पालिकाका उपाध्यक्षहरु कोहलपुर नगरपालिका उपप्रमुख सञ्जुकुमारी चौधरी, खजुराकी उपप्रमुख एकमाया बिक, राप्ती सोनारीकी उपप्रमुख धनीकुमारी खत्री लगायत उपप्रमुखहरु, बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरी, जिल्ला प्रहरी प्रमुख ओमबहादुर राना, हिसानका केन्द्रीय उपाध्यक्ष ईश्वर पोखरेल, क्यान इनफोटेकका सदस्य संजय थापा, उद्योग वाणिज्य महासंघका निवर्तमान सदस्य कृष्णप्रसाद श्रेष्ठ, मधुवन नगरपालिका बर्दियाका मेयर कृष्ण केसीगायतले पुरस्कृत गरे ।
बाँके जिल्ला भलिबल संघको आयोजनामा २१ फागुनबाट शुरु भएको प्रतियोगितामा तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता रहेको थियो ।
यसैगरी, नेपाल एपिएफ क्लबकी स्टार ओपन स्पाइकर सरस्वती चौधरी सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । एपिएफलाई उपाधि जिताउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी सरस्वतीले सर्वोत्कृष्ट खेलाडी चुनिदै २५ हजार प्राप्त गरिन् ।
लिग चरणको पुलिसविरुद्धको अन्तिम खेलमा सरस्वतीले उत्कृष्ट प्रर्दशन गर्दै ‘प्लेयर अफ द म्याच’ समेत घोषित भइन् । एपिएफले साविक विजेता पुलिसलाई २५–२२, २५–२३ र २५–१९ ले पराजित गर्दै च्याम्पियन बनेको हो । विधागततर्फ नेपाल पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाइकर घोषित भइन् । पुलिस अन्तिम खेलमा पराजित भएपनि उनको प्रदर्शन प्रतियोगिताभर उत्कृष्ट रह्यो ।
एपिएफकी हिरा केसी उत्कृष्ट ब्लकर चुनिइन् । पुलिसकी कमला पुन उत्कृष्ट सेटर घोषित भइन् । न्यु डायमन्डकी सलिना श्रेष्ट उत्कृष्ट लिब्रो र प्रतिभा माली उत्कृष्ट सर्भर घोषित भइन् । प्रतिभाको प्रर्दशन प्रतियोगिताभर उत्कृष्ट रहेको थियो । एपिएफका महेश चौधरी प्रतियोगता उत्कृष्ट प्रशिक्षक चुनिए । विधागततर्फ उत्कृष्ट चुनिने सबै खेलाडी र प्रशिक्षकले समान ५–५ हजार प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *