Tuesday, April 28सत्यम खबर
Shadow

‘सरकार बनाउन नेपाली काँग्रेसले सबैको लागि ढोका खोलेको’ : गुरुङ

नेपालगन्ज, २१ फागुन – नेपाली काँग्रेसले सबैको लागि ढोका खोलेको, काँग्रेस बिना कसैले सरकार बनाउन नसक्ने भएकोले ढोका बन्द नगरेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङले बताउनु भएको छ ।
आज शुक्रबार बिहान नेपाल प्रेस युनियन बाँकेद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा केन्द्रिय सदस्य गुरुङले यस्तो बताउनु भएको हो । सरकारमा सहभागी हुने÷नहुने विषयमा नेपाली काँग्रेसका नेताहरुबाट फरक धारणा आइरहेका बेला गुरुङले यस्तो बताउनुभएको छ ।


‘संसदभित्रको अंक गणितमा हामी खुल्ला छौं, उपयुक्त के हुन्छ भन्ने कुरा संसदीय दल र केन्द्रिय कार्यसमितिले निर्णय गर्छ,’ उहाँले भन्नुभयो ‘अहिले हामीले विकल्प खुल्ला राखेका छौं, कसैको लागि नेपाली काँग्रेसले ढोका बन्द गरेको छैन, गम्भिर रुपले नै छलफल चलाएका छौं ।’
नेपाली काँग्रेसले अहिले दुई वटा कुरालाई सँगसँगै लिएर अगाडी बढेको केन्द्रिय सदस्य गुरुङले जानकारी दिनुभयो । ‘अहिले हामी १४ औं महाधिवेशनको तयारी र संविधान जोगाउन संसदमा खेल्नुपर्ने भुमिकामा केन्द्रित छौं,’ उहाँले भन्नुभयो । पार्टीको १४ औं महाधिवेशन आगामी भदौं ७, ८, ९ र १० गते काठमाडौंमा गर्ने तयारी भइरहेको बताउँदै उहाँले उक्त महाधिवेशनमा आफुले केन्द्रिय सभापतिमा उम्मेदवारी दिने ठोकुवा गर्नुभयो ।


‘राजनीतिमा नयाँ पुस्ता आउनुपर्छ, त्यसकारण म भावी केन्द्रिय सभापति हुँ र उम्मेदवारी दिनेछु,’ गुरुङले थप्नुभयो । आफुले सभापतिका लागि तयारी गरिरहेको बताउनुभयो । नेपाली काँग्रेस कृयाशिल सदस्यता छानबिन समितीका सदस्य समेत रहेका केन्द्रिय सदस्य गुरुङले क्रियाशिल सदस्यता पठाउन सबै जिल्लालाई सर्कुलर गरिसकेको जानकारी गराउनुभयो । ‘हालसम्म ४९ जिल्लाबाट नविकरण र नयाँ क्रियाशिल सदस्यता इन्ट्रीको काम भइसकेको छ,’ उहाँले भन्नुभयो ।


नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाटमा नेपाली काँग्रेस बाँकेका सचिव कपिल शर्मा, जिल्ला सदस्य सुधांसु कोइराला, वरिष्ठ पत्रकार निरज गौतम लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम सञ्चालन प्रेस युनिय बाँके सचिव बसन्त मल्लले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *