
नेपालगन्ज, ८ फागुन -प्रेस संगठन बाँकेको सह-संयोजकमा राजेश आचार्य चयन भएका छन् । शनिबार नेपालगन्जमा सम्पन्न भेलाले संगठन विस्तार गर्दै सह-संयोजकमा आचार्यलाई चयन गरेको छ ।
त्यसैगरी भेलाले ३७ जनालाई संगठनको जिल्ला सदस्यमा मनोनित गरेको छ । शनिबार नयाँ पदाधिकारी चयन भएसँगै प्रेस संगठन बाँकेले पूर्णता पाएको छ ।
डक्ट प्रसाद धिताल नेतृत्वको संगठनका सहसंयोजक हेमन्त विक अर्कै संगठनमा आवद्ध भएपछि उनको स्थानमा आचार्यलाई नियुक्त गरिएको हो । त्यसैगरी संगठनको जिल्ला कार्यसमिति सदस्यमा बाँकेका विभिन्न संचारमाध्यममा कार्यरत ३७ जना पत्रकारहरूलाई मनोनित गरिएको संगठनका संयोजक धितालले बताउनु भयाे ।
मनोनित भएका सदस्यहरुलाई फागुन १५ गते एक कार्यक्रमका बीच सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।
प्रेस संगठन बाँकेका संयोजक धितालको संयोजकत्वमा भएको कार्यक्रममा नेकपाका नेता एवं संबिधान सभा सदस्य दलबहादुर सुनार, नेकपा नेतृ एंव लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी (नमुना), नेकपा बाँकेका सचिव अशोक कोइराला, नेकपा लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपाने, अग्रज पत्रकार भिम रावत, शिव सुनार, अवधी पत्रकार संघ बाँकेका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी, अजयकुमार गुप्ता तथा प्रेस संगठनका नेताहरुले मन्तब्य राखेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले सांसद पुर्नस्थापनाका लागि आ-आफ्नो स्थानबाट दवाव दिनुपर्ने बताएका थिए । संचार क्षेत्रको माध्यमबाट वर्तमान सरकारले चालेको असंवैधानिक र प्रतिगामी कदमको बिरोध गर्न समेत वक्ताहरुले आग्रह गरेका थिए ।
