
नेपालगन्ज, ९ फागुन – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रामा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिएको छ ।
शनिवार वडा नं. ६ मा रहेका सम्पूर्ण बालबालिकाहरुका लागि नाक, कान, घाँटी सम्बन्धित उपचारका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याईएको वडाअध्यक्ष समिरप्रताप सिंहले बताउनुभयो ।
नेपालगन्ज वडा नं. ६ स्थित रहेको ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रको समन्वयमा उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको वडासचिव प्रकाश पन्थीले बताउनुभयो ।
ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रका पुरन चौधरीको नेतृत्वमा ४ जना स्वास्थ्यकर्मीहरु रहेको टोलीद्वारा ६५ जना बालबालिकाहरुको निःशुल्क नाक, कान, घाँटी सम्बन्धी उपचार गरिएको थियो । जस मध्ये कान पाकेका ७ जना, कानको जाली सुन्निएका २ जना, कानमा फोहर सफाई गराउने १६ जना, कानले नसुन्ने १ जना गरी ६५ जनाको निःशुल्क उपचार गरिनुका साथै औषधि समेत उपलब्ध गराईएको स्वास्थ्यकर्मी मनलाल थारुले बताउनुभयो ।
स्वास्थ्यकर्मी थारुका अनुसार निःशुल्क चेकजाँच गराउने मध्ये ४ जनाको अप्रेसन गरिनु पर्ने भएको हुँदा उहाँहरुलाई केही छुटका साथ सम्बन्धित संस्थामार्फत अप्रेसन गरिने बताउनुभयो ।
एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा वडा नं. ६ कार्यालय मार्फत १ लाख बजेट विनियोजित गरिएको जानकारी गराउँदै मानव अधिकार अनुसन्धान नेपाल नामक संस्थाको आयोजनामा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिएको वडा सदस्य सुरेश सोनारले बताउनुभयो ।




