
काठमाण्डौ, २२ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेको र हिजो मात्रै संवैधानिक आयोगका पदाधिकारीहरुलाई असंवैधानिक रुपमा सपथ खुवाईएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज नेपाल बन्द गरेको छ ।
बन्द सफल पार्नको लागि उक्त समूहका नेता तथा कार्यकर्ताहरु आज बिहानै सडकमा जुलुशसहित उत्रिएका छन् । सातदोबाटोमा अध्यक्ष पुष्पकमल दाहाल नै उपस्थित् भएका थिए । उनी सरकार विरुद्धको नाराबाजीमा समेत सरिक भएका छन् ।
नेपाल बन्द गराउँदै हिँड्ने र तोडफोडमा उत्रने १ सय ४९ जना नेता तथा कार्यकर्ताहरुलाई देशका विभिन्न स्थानबाट पक्राउ गरिएका छ । पक्राउ पर्नेमा आधाभन्दा बढी काठमाडौँ उपत्यकाभित्रबाट छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार देशभर विभिन्न १० स्थानमा तोडफोडका घटना भएका छन् । काठमाडौँ उपत्यकामा पाँच, सुनसरीमा २ तथा चितवन, इलाम, सिन्धुली र मकवानपुरमा एक एकवटा तोडफोडका घटना भएको प्रहरीले जनाएको छ ।
सत्तारुढ नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।
यसैगरी देशको अन्य जिल्लाहरु सहित बाँकेमा समेत विभिन्न स्थानमा बिहानैदेखि दाहाल–नेपाल समूहका नेता तथा कार्यकर्ताहरुले बन्दलाई सफल पार्न नारा जुलुस गरेका छन् ।

