Tuesday, April 21सत्यम खबर
Shadow

आज नेकपाका दुवै समूहका छुट्टा–छुट्टै बैठक बस्दै

काठमाण्डौ, ७ पौष – नेकपाका दुवै समूहका केन्द्रीय कमिटी बैठक आज मंगलबार बस्ने भएका छ ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली समूहको बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री ओलीले ९ बजे केन्द्रीय कमिटी बैठक बोलाएका छन् । ओली समूहले मंगलबारका लागि सोमबार मात्रै बैठकको मिति तय गरेको जनाईएको छ ।


अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल निकट केन्द्रीय सदस्यहरूको बैठक पनि आज मंगलबार नै बस्ने भएको छ । प्रचण्ड–नेपालले कार्की ब्यांक्वेटमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले आज मंगलबारको बैठक तय गरेको थियो ।
आईतबारको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस समेत गरेको छ । मंगलबारको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गर्ने जानकारी प्रचण्डले आफूनिकट नेताहरूलाई गराइसकेका छन् ।
सोमबार भएको आफूनिकट सांसदहरूको भेलामा प्रचण्डले केन्द्रीय कमिटीले ओलीमाथि कारबाही गर्ने बताएका थिए । कस्तो कारबाही गर्ने भनेर भने उनले खुलाएका छैनन् ।
प्रधानमन्त्री ओलीले भने आफूलाई प्रचण्डले कारबाही गर्न नसक्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको भेलामा प्रचण्डको पार्टीमा हैसियत उपाध्यक्षको जस्तै भएको भन्दै कारबाही गर्न नसक्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *