
नरैनापुर, ४ असोज – विश्व हिन्दू परिषद् नेपाल, नरैनापुरको बैठकले आगामी नवरात्रमा बृहत् रूपमा कन्यापूजन गर्ने निर्णय गरेको छ । नरैनापुर गाउँपालिका–५ मटेहियास्थित मौजीदास बाबा आश्रममा सम्पन्न बैठकले नवरात्रको पञ्चमी तिथिमा कम्तीमा १ हजार १ सय कन्याको पूजन गर्ने निर्णय गरेको हो ।

सनातनी परम्परा र धार्मिक संस्कारलाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले आयोजना गरिने कन्यापूजनलाई यस वर्ष विगतको तुलनामा अझ व्यवस्थित र भव्य बनाउने तयारी गरिएको बैठकमा सहभागीहरूले बताएका छन् ।

बैठकले हालै सम्पन्न काँवर यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवादसमेत ज्ञापन गरेको छ । धार्मिक तथा सामाजिक गतिविधिमा स्थानीय समुदायको सहभागिता बढाउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई थप व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय पनि गरिएको छ ।

बैठकमा हिन्दू स्वयंसेवक संघ नेपालका भेरी विभाग संघचालक मा. रामकुमार दीक्षित, नरैनापुर पालिका संघचालक रामतीर्थ यादव, नरैनापुर–१ का संयोजक विश्राम यादव तथा वडा नं. २, ३, ४ र ५ का संयोजक क्रमशः कुलेराम यादव, अम्बरलाल पाण्डे, हरिराम शर्मा र शोभाराम यादवको सहभागिता रहेको थियो ।

त्यसैगरी पण्डित विनोद शास्त्रीलगायत स्थानीय धार्मिक तथा सामाजिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको पनि बैठकमा उपस्थिति रहेको थियो ।

बैठकमा सहभागीहरूले धार्मिक परम्पराको संरक्षणसँगै समुदायमा आपसी सद्भाव, सहकार्य र सामाजिक एकता कायम गर्न यस्ता कार्यक्रमको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए । आगामी नवरात्रमा आयोजना हुने ११०० कन्यापूजनलाई स्थानीय समुदायको व्यापक सहभागितासहित सम्पन्न गर्ने तयारी अघि बढाइने बताइएको छ ।
