
नेपालगन्ज, २६ असार – पोषण मैत्री स्थानिय शासन र बालमैत्री स्थानिय शासन सम्बन्धि स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम शुक्रवारदेखि नेपालगन्जमा सुरु भएको छ । सामाजिक विकास मञ्च -एसडिएफ) बाँकेको आयोजना, वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा जानकी गाउँपालिकाका स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम सुरु भएको हो ।

क्षमता अभिबृद्धि तालिममा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, बाल क्लवका पदाधिकारी, पत्रकार तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको छ । जानकी गाउँपालिकामा बालवालिकाहरुलाई घरायसि काममा बढि प्रयोग गरिने भएको हुनाले यसको रोकथाम गर्न सबै सरोकारवालाहरुको उत्तिकै भुमिका रहेको तालिमका प्रशिक्षक अशोक न्यौपानेले बताउनुभयो । जानकी गाउँपालिकामा बालवालिका तथा पोषण कार्यक्रमलाई प्रथामिकतामा राख्न अभिभावकसंग शिक्षा कार्यक्रममा जोड दिन आवश्यक रहेको प्रशिक्षक न्यौपानेले बताउनुभयो । जानकी गाउँपालिकालाई बालमैत्री बनाउन बालअधिकारसम्बन्धी जनचेतना मुलक कार्यक्रम, सडक नाटक, अन्तरक्रिया कार्यक्रम तथा प्रचारप्रसार व्यापक गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । जानकीमा शिक्षाको कमिले बाल मैत्री तथा पोषण मैत्री पालिका हुन नसकेको सहभागि सरोकारवालानिकायले बताएका छन् ।

कार्यक्रममा सहभागीहरूलाई समूहगत छलफलमार्फत जानकी गाउँपालिकाको समुदायस्तरमा बालमैत्री स्थानिय शासन र पोषण मैत्री स्थानिय शासनमा देखिएका चुनौतीहरूको बारेमा छलफल गराईएको थियो । सामाजिक विकास मञ्च बाँके -एसडिएफ बाँके) का अध्यक्ष चम्प सिङ थापा मगरको अध्यक्षतामा ३ दिने तालिमको उद्घाटन कार्यक्रममा जानकी गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख रामअचल धोबी, महिला तथा वालवालिका शाखा प्रमुख कल्पना गाहा, सामाजिक विकास मञ्च बाँकेका एनसिजी अफिसर विवेक मलासी, जानकी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष टिकानाथ यादव, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, बालक्लबका पदाधिकारी तथा पत्रकारहरूको सहभागिता रहेको तालिमको संचालन सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरीले गर्नुभएको थियो ।

