Thursday, June 11सत्यम खबर
Shadow

बालबालिकाका सवालमा सुधारात्मक कदम चाल्ने पालिकाको प्रतिबद्धता

मानपुर, २८ जेठ — जानकी गाउँपालिका स्तरीय बाल क्लब सञ्जालको आयोजनामा सरोकारवाला र बालबालिकाबीच पालिका स्तरीय संवाद कार्यक्रम बिहीबार सम्पन्न भएको छ । सामाजिक विकास मञ्च बाँके -एसडिएफ बाँके) र वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जानकी गाउँपालिका कार्यालयको समन्वयमा आयोजित कार्यक्रममा बालबालिकाले गाउँपालिका भित्रका विभिन्न समस्या तथा चुनौती बारे खुलेर आफ्नो धारणा राखेका छन् ।

कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, योजना शाखा प्रमुख शोभा पौडेल, सामाजिक विकास शाखा प्रमुख रामअचल धोबी, शिक्षा शाखा प्रमुख झुमीकुमारी ओली, महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गाह, न्यायिक समितिका प्रतिनिधि जितबहादुर श्रेष्ठ, समाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरी, पत्रकार तथा वडा नं. १ देखि ६ सम्मका बाल क्लबका पदाधिकारी एवं सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण प्रकाश उपाध्यायले गर्नुभएको थियो ।

संवादका क्रममा बालबालिकाहरूले विद्यालयमा शैक्षिक गुणस्तर सुधार, शिक्षकको नियमित उपस्थिती, विद्यालयमा पर्याप्त खानेपानी र सरसफाइको व्यवस्था, स्वास्थ्य सेवाको पहुँच, बालविवाह नियन्त्रण, लागुऔषध दुव्र्यसन रोकथाम तथा समुदायमा हुने झै–झगडा न्यूनीकरणका विषयमा प्रश्न तथा सुझाव प्रस्तुत गरेका थिए ।

बालबालिकाले विद्यालयमा स्वच्छ खानेपानी र शौचालयको अभाव रहेको, कतिपय क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच कमजोर रहेको तथा बालविवाह र लागुऔषधको समस्या अझै पनि चुनौतीका रूपमा रहेको गुनासो गरेका थिए । उनीहरूले सम्बन्धित निकायलाई यस्ता समस्याको दीर्घकालीन समाधानका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका थिए ।

बालबालिकाले उठाएका प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष छब्बन खाँले बालबालिकाका समस्या र सुझावलाई गम्भीरतापूर्वक लिइने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइका क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक योजना तथा बजेट व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शिक्षा शाखा प्रमुख झुमीकुमारी ओलीले विद्यालयमा शैक्षिक गुणस्तर सुधार र बालमैत्री वातावरण निर्माणका लागि निरन्तर काम भइरहेको जानकारी दिनुभयो । महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गाहले बालविवाह तथा बालअधिकार उल्लंघनका घटनालाई न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाइने र बाल क्लबहरुस“ग सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो ।

त्यस्तै सामाजिक विकास शाखा प्रमुख रामअचल धोबीले लागुऔषध दुव्र्यसन नियन्त्रण तथा बाल संरक्षणका क्षेत्रमा सरोकारवाला निकायसँग सहकार्य गर्दै विशेष अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी बालबालिकाले पहिलोपटक आफ्ना समस्या र अपेक्षा प्रत्यक्ष रूपमा पालिका नेतृत्वसमक्ष राख्न पाएको भन्दै खुसी व्यक्त गरेका थिए । वक्ताहरूले यस्ता संवाद कार्यक्रमले बालबालिकाको सहभागिता सुनिश्चित गर्नुका साथै स्थानीय सरकारलाई बालमैत्री शासन प्रणाली निर्माण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *