Tuesday, June 9सत्यम खबर
Shadow

आचार्यको ‘आरोह अवरोह’ विमोचन

नेपालगन्ज, २६ जेठ – शिक्षाविद् तथा साहित्यकार किरण आचार्यको आत्मकथा ‘आरोह अवरोह’ एक विशेष समारोह बीच मंगलबार विमोचन गरिएको छ ।
असल शासन मिडियाद्वारा प्रकाशित उक्त कृतिको लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. विनोदप्रसाद ढकाल, लेखक आचार्य, आचार्यका पती प्रा. डा. जनार्दन आचार्य, वरिष्ठ साहित्यकार सनत रेग्मी, लेखक नरेन्द्र जंग पिटर, भाषा आयोगका निवर्तमान सदस्य गोपाल अस्क, असल शासन मिडियाका अध्यक्ष नमस्कार शाह लगायले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

विमोचन समारोहमा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. विनोदप्रसाद ढकालले आत्मकथा कुनै व्यक्तिको जीवन वृत्तान्त मात्र नभई समाज र समयको इतिहास पनि हुने बताए ।

उनले किरण आचार्यको जीवनयात्रा संघर्ष, समर्पण र निरन्तरताको उदाहरण रहेको उल्लेख गर्दै ‘आरोह अवरोह’ ले शिक्षा, समाज र राष्ट्रप्रतिको जिम्मेवारीबोधलाई समेत उजागर गरेको धारणा राखे । उनले पुस्तकले आगामी पुस्तालाई जीवनका कठिन परिस्थितिसँग जुधेर सफलता हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।

वरिष्ठ साहित्यकार सनत रेग्मीले किरण आचार्य नेपाली साहित्य र शिक्षा क्षेत्रमा परिचित तथा सम्मानित नाम भएको उल्लेख गर्दै आत्मकथाले एक महिलाको संघर्षशील जीवनको यथार्थ चित्रण गरेको बताए ।

उनले पुस्तकमा समेटिएका अनुभव, भोगाइ र विचारहरूले पाठकलाई भावनात्मक र बौद्धिक रूपमा समृद्ध बनाउने धारणा व्यक्त गरे । रेग्मीले साहित्य समाजको ऐना भएकाले आचार्यको कृतिले समकालीन समाजलाई बुझ्न महत्वपूर्ण आधार प्रदान गर्ने बताए ।

लेखक तथा राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले आत्मकथा लेखन साहसको विषय भएको बताउँदै किरण आचार्यले आफ्ना जीवनका उतारचढावलाई निसंकोच रूपमा प्रस्तुत गरेको उल्लेख गरे । उनले पुस्तकमा व्यक्तिगत अनुभवसँगै देशको राजनीतिक, सामाजिक र शैक्षिक अवस्थाबारे पनि उल्लेख गरिएकाले यो केवल आत्मकथा मात्र नभई समकालीन समयको दस्तावेज बनेको बताए। उनले यस्ता कृतिले इतिहास र समाज बुझ्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

भाषा आयोगका निवर्तमान सदस्य गोपाल अस्कले पुस्तकले भाषा, साहित्य र समाजलाई जोड्ने काम गरेको बताए । उनले किरण आचार्यको साहित्यिक योगदानको प्रशंसा गर्दै पुस्तकमा प्रयोग गरिएको भाषा सरल, सहज र पाठकमैत्री रहेको उल्लेख गर्दै पुस्तकले नयाँ पुस्तालाई साहित्य, शिक्षा र सामाजिक उत्तरदायित्वप्रति आकर्षित गर्न सहयोग पु¥याउने बताए ।

कार्यक्रममा हरित अभियन्ता हेमन्तराज काफ्लेले किरण आचार्यलाई सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र मानवीय मूल्यप्रति समर्पित व्यक्तित्वका रूपमा चित्रण गरे । उनले आचार्यले शिक्षा क्षेत्रमार्फत समाजमा पु¥याएको योगदान प्रशंसनीय रहेको बताए । साहित्यकार भोजराज शर्माले किरण आचार्यको साहित्यिक तथा सामाजिक व्यक्तित्वबारे चर्चा गर्दै उनी निरन्तर अध्ययन, लेखन र समाजसेवामा सक्रिय रहेको बताए । निडर र हक्कि स्वभावको ब्यक्तित्व भएकोे उल्लेख गर्दै आचार्यको जीवनयात्रा धेरैका लागि प्रेरणाको स्रोत भएको शर्माको भनाइ थियो ।

मंगल प्रसाद नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्ध्या गुप्ताले आचार्यको शैक्षिक नेतृत्व, अनुशासन र कार्यक्षमताको चर्चा गर्दै शिक्षा क्षेत्रको विकासमा उनको योगदान महत्वपूर्ण रहेको बताए । उनले आचार्यले शिक्षण पेशामा देखाएको समर्पण भाव अनुकरणीय रहेको उल्लेख गर्दै आफ्नो जीवनको रोलमोडल भएको गुप्ताले बताइन् ।

असल शासन मिडियाका अध्यक्ष नमस्कार शाहले पुस्तकको प्रकाशन प्रक्रिया तथा विषयवस्तुबारे जानकारी गराउँदै ‘आरोह अवरोह’ ले जीवनका विविध अनुभव, संघर्ष र सफलताका कथाहरूलाई समेटेको बताए । उनले पुस्तकले पाठकलाई जीवनका यथार्थ पक्ष बुझ्न र चुनौतीहरू सामना गर्न प्रेरित गर्ने विश्वास लिएको बताए ।

लेखक किरण आचार्यले आफ्नो जीवनका भोगाइ, संघर्ष, सफलता र असफलताका अनुभवलाई पुस्तकमा समेटिएको बताइन् । उनले बाल्यकालदेखि शिक्षण पेशामा प्रवेश गर्दासम्मका अनुभव, पारिवारिक तथा सामाजिक चुनौती, जीवनमा भोगेका उतारचढाव र त्यसबाट सिकेका पाठलाई पुस्तकमा समावेश गरिएको जानकारी दिदै पुस्तक लेखनको उद्देश्य आफ्ना अनुभवलाई समाज र आगामी पुस्तासम्म पु¥याउनु रहेको आचार्यले बताइन् ।

पुस्तकमा आचार्यको बाल्यकाल, शिक्षण क्षेत्रका अनुभव, विभिन्न चुनौती र संघर्ष, सामाजिक तथा पारिवारिक जीवन, देशको राजनीतिक अवस्था, साहित्यिक यात्रा तथा जीवनका विविध आरोह–अवरोह समेटिएका छन् । असल शासन मिडियाका प्रबन्ध निर्देशक मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा बिभिन्न क्षेत्रका १०० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *