Thursday, May 21सत्यम खबर
Shadow

वडा नं. १८ मा विकास निर्माणले लियो तीव्र गतिः अमरनगर टोलमा २० लाखको आरसीसी नाला तथा सडक स्तरोन्नति योजनाको शिलान्यास

नेपालगन्ज, ७ जेठ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा विकास निर्माणका कार्यहरू तीव्र गतिमा अघि बढिरहेका छन् । वडाध्यक्ष दीपककुमार वर्माले हप्तैपिच्छे विभिन्न विकास योजनाहरूको शिलान्यास गर्दै निर्माण कार्यलाई गति दिनुभएको छ ।

यसै क्रममा आज विहिबार वडा नं. १८ अन्तर्गत अमरनगर टोलमा रु. २० लाखको लागतमा निर्माण हुने आरसीसी नालासहित सडक स्तरोन्नति योजनाको शिलान्यास गरिएको छ । उक्त योजना सम्पन्न भएपछि वर्षौंदेखिको जलनिकास तथा सडक आवागमनसम्बन्धी समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

निर्माण सामग्रीको मूल्य निरन्तर बढिरहेको वर्तमान अवस्थामा पनि वडाध्यक्ष वर्माको सक्रिय पहल र निरन्तर अनुगमनका कारण वडा भित्रका विकास निर्माणका कामहरू धमाधम सञ्चालन भइरहेका छन् । चालु आर्थिक वर्ष समाप्त हुनु अघि नै अधिकांश योजनाहरू सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्रता दिइएको जनाइएको छ ।

स्थानीय बासिन्दाले विकास निर्माणका कामहरू निरन्तर अघि बढेकामा खुसी व्यक्त गरेका छन् । उनीहरूले सडक तथा नाला निर्माणले टोलको स्वरूप परिवर्तन हुनुका साथै दैनिक जीवन सहज बन्ने विश्वास व्यक्त गरेका छन् ।

वडा नं. १८ मा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सडक, नाला तथा अन्य जनमुखी योजनाहरू क्रमिक रूपमा कार्यान्वयन भइरहेका छन्, जसले समग्र वडाको विकासमा नयाँ ऊर्जा थपेको स्थानीयवासीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *