
डुडुवा, २५ चैत – डुडुवा गाउँपालिकाले वार्ड नं. १ र २ अन्तर्गत रामनगर पाझा क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न थालेको छ ।
उक्त क्षेत्रमा धार्मिक पर्यटन विकासका लागि स्टेचु अफ शिवः, कृषि विद्यालय, पार्क लगायतका योजना निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिको अति दुर्गम तथा बाढी प्रभावित क्षेत्रलाई पर्यटनको रुपमा चिनाउन त्यस क्षेत्रको विकास गर्न लागिएको हो ।

कृषि विद्यालयका लागि चार कोठे भवनको निर्माण कार्य शुरु गरिएको छ । केही दिन अघि गाउँपालिका अध्यक्ष चौधरीले ४ कोठे भवनको शिलान्यास गर्नु भएको हो ।
डुडुवा–२ स्थित पशुपति माध्यमिक विद्यालय अन्र्तगत रहने गरी कृषि विषयको अध्ययन अध्यापनका लागि भवन निमार्ण गर्न लागिएको अध्यक्ष चौधरीले बताउनुभयो । करिब रु ७० लाखको लागतमा निर्माण शुरु भएको भवन असार मसान्तसम्म निमार्ण कार्य सम्पन्न हुने गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर शुरेन्द्र बर्माले जानकारी दिनुभयो ।
