
बर्दिया, २ कात्तिक – बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा पछिल्लो समय प्रशासनिक निष्क्रियता र कर्मचारीको मनोमानी व्यवहारले स्थानीय नागरिक त्रसित भएका छन् । गाउँपालिकामा नियुक्त लेखा अधिकृत नारायण राज त्रिपाठीले महिनौँदेखि “सिस्टम चलेको छैन” भन्ने कारण देखाउँदै जनतालाई झुलाउँदै आएको स्थानीयहरूले गुनासो गरेका छन् ।
विशेषगरी गाउँपालिका वडा नं. ४ र ५ मा पर्ने पिक्निक स्थलको ठेक्कासँग सम्बन्धित धरौती रकम फिर्ता माग गर्न आएका स्थानीय व्यवसायी महिनौँदेखि उनीसँग दौडधुप गरिरहेका छन्, तर समस्या समाधान नभएको गुनासो छ । ठेक्का बापतको धरौटी रकम फिर्ता गर्न माग गर्दा त्रिपाठीले पटक–पटक “सिस्टम चलेको छैन, पछि आउनु” भन्दै नागरिकलाई फर्काउने गरेको आरोप लागेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षको साउन २३ गते पिक्निक स्थल व्यवस्थापनका लागि ठेक्का बोलपत्र आह्वान गरेको थियो ।
बोलपत्रमा सहभागी भएका स्थानीय जागेश्वर थारूले ठेक्का नपरेपछि धरौटी रकम फिर्ता गर्न माग गरेका थिए । तर, करिब दुई महिना बितिसक्दा पनि रकम फिर्ता नभएको उनी बताउँछन् । “मैले पटक–पटक गएर धरौटी फिर्ता माँगे । सुरुमा भने ‘सिस्टम चलेको छैन’, भन्दै फर्काइरहे,” थारूले बताए । “पालिकाका अन्य भुक्तानीहरू भने ठिकैसँग भएका छन्, तर मेरोे रकममा मात्रै सिस्टम चल्दैन भन्ने कुरा बुझ्न सकिएन,” उनले जोड दिए ।
थारूका अनुसार, साउन महिनामा नै रकम फिर्ताको प्रक्रिया सुरु गर्नुपर्ने भए पनि हालसम्म कुनै प्रगति छैन । यसबीचमा पालिकाले आफ्ना कर्मचारीको तलब, सेवा सुविधा, अन्य ठेक्का भुक्तानी सबै समयमा गरेको जनाइएको छ । सम्बन्धित पक्षहरूले बारम्बार रकम फिर्ता माग्दा लेखा अधिकृत नारायण राज त्रिपाठीले झन् उल्टो रुखो व्यवहार गरेको बताइन्छ । थारू भन्छन्, “मले भनेँ सिस्टम चलेको छैन भने चेक काटिदिनुस्, सिस्टम चलेपछि भुक्तानी लिन्छु । त्यसपछि लेखा अधिकृत नारायण राज त्रिपाठीले झन् अक्रोशित हुँदै ‘तिमीलाई केही थाहा छैन, यति कुरा बुझ्दैनौं ?’ भन्दै पालिकाका लेखा अधिकृत त्रिपाठीले आफुलाई सबै ठहाँ भएको कुरा गर्न थाले ।”
घटनापछि कुरा विवादित बन्दै गएपछि त्रिपाठीले केही स्थानीय पत्रकारलाई समेत फोन गरेर ‘मामिला मिलाइदिनु’ आग्रह गरेको बताइन्छ । यस्ता घटनाले गाउँपालिकाको प्रशासनिक विश्वसनीयतामा प्रश्न उठाएको स्थानीयको टिप्पणी छ । बढैयाताल गाउँपालिकामा सेवा लिन आउने नागरिकले लामो प्रतीक्षा र असहज व्यवहार भोग्नु पर्ने स्थिति सामान्य बनेको छ । गाउँपालिका कार्यालयमा बिहानैदेखि विभिन्न कामका लागि पुग्ने नागरिकहरू कहिले “सिस्टम चलेन”, कहिले “अध्यक्ष छैन”, त कहिले “भौचर साइन भएको छैन” भन्दै फर्काइन्छन् ।
“यहाँ काम जनताको आवश्यकता अनुसार होइन, कर्मचारीको ‘मूड’ अनुसार चल्छ । जसले दबाब दिन जान्दछ, उसको काम तुरुन्त हुन्छ; जसले शान्तिपूर्वक कुरा गर्छ, उसको काम महिनौँ अड्किन्छ ।” त्रिपाठीले आफूले चाहेको व्यक्तिको काम अघि बढाउने र मन नपरेको व्यक्तिलाई उल्झाउने गरेको पनि आरोप लागेको छ । केही स्थानीय जनप्रतिनिधिहरूले पनि नाम नखुलाउने सर्तमा भने “लेखा शाखामा समस्या छ । कहिले कम्प्युटर बिग्रियो, कहिले नेटवर्क गयो भन्ने बहानामा काम ढिला पारिन्छ । तर भुक्तानीका काम भने रोजाइका अनुसार तुरुन्तै सकिन्छ ।” यस्ता घटनाले गाउँपालिकामा प्रशासनिक पारदर्शिता र सेवा प्रवाहमा गम्भीर प्रश्न उठाएको छ । गाउँपालिका नेतृत्वले यस विषयमा चासो नदिँदा नागरिकहरूमा निराशा फैलिएको छ ।

लेखा अधिकृत र ठेक्का सहभागीसँगको विवाद मिडियामा आउन थालेपछि त्रिपाठीले पत्रकारलाई समेत फोन गरेर “समाचार नचलाइदिन आग्रह” गरेको स्रोतको दाबी छ । पत्रकारहरूले भने “जनताको हकका विषयमा दबाब सहेर समाचार रोकिने छैन” भन्दै प्रतिवद्धता जनाएका छन् । एक पत्रकारले भने, “हामीलाई फोन गरेर कुरा मिलाइदिन आग्रह गरिएको थियो । तर, यस्ता घटना रोक्न पालिकाले नै जिम्मेवारी लिनुपर्छ, व्यक्तिगत रूपमा कुरा मिलाउने होइन ।”
यता, गाउँपालिकामा सेवा लिने नागरिकहरूले लेखा शाखामा अनियमितता भएको भन्दै छानबिनको माग गरेका छन् । “लेखा अधिकृतले जनतालाई झुलाउने मात्र होइन, काम गर्दा समेत आफ्नो मर्जी चलाउँछन् । यो प्रवृत्ति तत्काल रोकिनुपर्छ,” एक स्थानीयले भने । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र अध्यक्षले पनि यस घटनाबारे ध्यान दिनुपर्ने जनाइएको छ । नागरिकको हकमा चल्ने कार्यालय नागरिकमैत्री हुनुपर्नेमा अहिले ‘कर्मचारी मैत्री’ बनेको भन्दै स्थानीय असन्तुष्ट छन् ।
बढैयाताल गाउँपालिकाको लेखा शाखामा चलिरहेको “सिस्टम चलेको छैन” भन्ने बहाना अब जनताको धैर्यको विषय रहेन । नागरिकले आफ्नो रकम र अधिकारका लागि महिनौँ कार्यालय धाउने अवस्था लोकतान्त्रिक शासनको लाजमर्दो तस्वीर हो । लेखा अधिकृत नारायण राज त्रिपाठीले जनताको गुनासो सुनेर तत्काल समस्या समाधान गर्नुपर्ने, नत्र प्रशासनिक शिथिलता र मनोमानी व्यवहारका कारण पालिकाको छवि झनै मलीन बन्ने निश्चित देखिन्छ ।
यस बारे थप जानकारीको लागि लेखा अधिकृत त्रिपाठीलाईले भने– ‘सम्बन्धित धरौटीको रकम जागेश्वर थारुको नाममा रहेको तथा सोको चेक उनले अर्को व्यक्तिको नाम काट्न भनेपछि ढिलो हुन गएको हुँदा आजपनि जागेश्वर को नामबाट चेक तत्काल कटिने बताउनुभयो ।
