Monday, October 13सत्यम खबर
Shadow

जिगाउँ चिनाउन भलिबल प्रतियोगिता शुरु, बिजेता टीमलाई ६१ हजार १०० पुरस्कार

नेपालगन्ज, २७ असोज – देश जेन–जी आन्दोलन पछिको त्रासलाई मेटाउने आम नागरिकहरुले विभिन्न उपायहरु अपनाईरहेको अवस्थामा बाँके जिल्ला बैजनाथ गाउँपालिका वडा नं. ५ का युवाहरुले पनि त्यसमा सक्रियता देखाउँदै भलिबल प्रतियोगिताको शुभारम्भ गरेका छन् ।

“खेलकुदलाई प्रोत्साहन लागू औषधलाई दुरुसान” को नारा लगाउँदै प्रथम जि गाउँ खुला भलिबल प्रतियोगिता–२०८२ को आयोजना गर्दै अरनिको युवा क्लब बैजनाथ–५ ले सकारात्मक सन्देश प्रवाह गरेको छ ।

आज सोमबारबाट उद्घाटन गरिएको खेलमा १६ वटा टीमहरुले सहभागिता जनाएका छन् । उक्त खेल ३ दिनसम्म चल्नेछ भने प्रथम हुने टीमलाई नगद ६१ हजार १ सय रुपैयाका साथै ट्राफी, मेडल, प्रमाणपत्रबाट सम्मानित गरिने आयोजक टीमका अध्यक्ष बिक्रम ओलीले बताएका छन् ।

क्लबका अध्यक्ष ओलीका अनुसार दोस्रो हुने टिमका लागि ३१ हजार ३१ रुपैया नगद, प्रमाणपत्र, ट्राफी, मेडलबाट सम्मानित गर्नुका साथै युवाहरुमा लागू औषध बारे सचेतना फैलियोस भन्ने उद्देश्यका साथ भलिबल खेल प्रतियोगिताको आयोजना गरिएको बताए ।
उनले खेल जीवनमा स्वास्थ्य रहने प्रमुख माध्यम समेत रहेको बताउँदै खेलको आर्थिक सहकार्यतर्फ बैजनाथ गाउँपालिका, देउती ईट्टा उद्योग, राष्ट्रिय स्वतन्त्र पार्टी, श्री वन दुर्गा भगवती सामुदायिक वन उपभोक्ता समूह, हिमालयन विद्या निकेतन लगायत खेलप्रेमी दाताहरुले आर्थिक सहकार्य गरेको बताए ।


आज आयोजित कार्यक्रमको प्रमुख अतिथिमा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, बिशिष्ट अतिथिमा पूर्व राज्यमन्त्री दलबहादुर सुनार, उपाध्यक्ष निर्मला रोकाय, राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष, बैजनाथ गाउँपालिका वडा नं. ५, ६ का वडाध्यक्ष देवबहादुर रावत, भोपाल पुन, देउती ईट्टा उद्योगका सञ्चालक देवबहादुर ओली लगायतको सहभागिता रहेको थियो ।

आयोजित कार्यक्रमको प्रमुख अतिथि पालिका अध्यक्ष शाहीले खेलाडीहरुलाई शुभकामना दिनुका साथै पानसमा दिप बालेर खेलको शुभारम्भ गरेका थिए ।

आजको खेल पालिकाका कर्मचारीहरु बीच मैत्रीपूर्ण भलिबल खेल खेलिएको थियो । उक्त खेलको आयोजना प्रभात नमूना माध्यमिक विद्यालयको खुल मैदानमा सञ्चालन गरिएको छ ।

आज शुभराम्भ उद्घाटन सत्रमा विभिन्न गीतमा बालबालिकाहरुले मनमोहन नृत्यको प्रस्तुत गरेका थिए भने जिगाउँ तेक्वान्दो दोजाँगका खेलाडीहरुद्वारा आत्मरक्षा बारे विभिन्न खेलहरु प्रदर्शन गरिएको थियो ।

पुरा भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *