Monday, October 13सत्यम खबर
Shadow

वरिष्ठ सई तथा पूर्ववडाध्यक्षसहित १३ लाख बढी नगदका साथ १४ जना जुवाडी पक्राउ

नेपालगन्ज २३ असोज – बुधबार राती ११ बजे प्रहरीद्वारा छापामारी प्राप्त गरिएको सफलता झिनो मात्र हो । यहाँ त दैनिक लाखौंको जुवा हुने गरेको स्रोतको दाबी रहेको छ । तर पनि तिहार अगावै सकारात्मक सन्देश प्रवाह भएको मान्न सकिन्छ जसमा वरिष्ठ सईदेखि राजनीतिककर्मीसम्मलाई खोरसम्म पु¥याउन प्रहरी सफल भएको छ ।

नगद १३ लाख ६३ हजार ८ सय रुपैयाँसहित जुवा खालमा नाम चलेका जुवाडेहरुलाई पक्राउ गरी समाजमा थोरै भएपनि सकारात्मक सन्देश प्रवाह गरेको नेपालगन्जबासीहरुको भनाई रहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा हालै आएका बाँके प्रहरी प्रमुख अंगुर जिसी आएदेखि नै चुनौतीहरुको सामना गर्दै आएका छन् । यसै चुनौतीहरु बीच नेपालगन्ज बसपार्क वाईपास रोडमा रहेको मौरी होटलका सञ्चालक बिज्ञान श्रेष्ठसहित गणेश बस्नेत, सेराज अन्सारी, ऋषी गुप्ता, तरुण गौतम, विनोद खड्का, नेकपा एमाले नेता तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का पूर्व वडाध्यक्ष मोहम्मद सफिक बेहना, संगम शाहसहितलाई पक्राउ गरी आज विहिबार जिल्ला प्रशासन कार्यालय बाँकेमा म्याद थप गर्न लगिएको प्रहरी स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके प्रवक्ता डिएसपी दीपक पतालीका अनुसार अन्य जुवाडेहरुमा मधुसुदन दाहाल, मेघराज गौतम, भागीरथ यादव, नन्दलाल यादव र सुमन केसी गरी १४ जना रहेका छन् ।

वरिष्ठ सई रोशन (रमेश) शाहीको नाम जुवा खालबाट नगदसहित पक्राउ परेको विभिन्न सञ्चारगृहबाट सार्वजनिक भएपछि प्रहरी कै जग हँसाई भएको छ । कतिपयले सार्वजनिक सञ्जाल प्रयोग गर्दै प्रहरीतर्फ नै प्रश्न चिन्ह खडा गरेका छन् ।

प्रहरी प्रमुख जिसीको निर्देशनमा वडा प्रहरी कार्यालय प्रमुख अरुण बमको नेतृत्वमा राती ११ बजे मौरी होटलको दोस्रो तलामा जुवा भईरहेको विशेष सूचनाको आधारमा छापा हानिएको बताईएको छ ।

नेपालको संविधानमा जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलो पटक पक्राउ परे २ सय रुपैयाँ जरिबाना र दोस्रो पटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था गरिएको छ ।

तर पछि २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ । उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई बढीमा ३ महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था रहेको छ । दोस्रो पटकमा बढीमा १ वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ ।

दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेको हकमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था रहेको छ । जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था पनि रहेको छ ।

बुधबार छापा हानिएको मौरी होटलबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेकाहरुबाट २ गड्डी तास (कार्ड) खोलिएको तथा ८ गड्डी तास (कार्ड) नखोलिएको अवस्थामा फेला परेको बताईएको छ ।

हाल नेपालगन्जको विभिन्न स्थानमा जुवा भईरहेको छ । बसपार्क क्षेत्र, फुल्टेक्रा क्षेत्र, रामनगर क्षेत्र, बिर्ता, पुरानैलगायत स्थानमा दैनिक जुवा हुने गरेको स्रोतको दाबी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *