Sunday, September 28सत्यम खबर
Shadow

बाल दिवसमा फाउण्डेसनद्वारा आश्रितहरुलाई खाना र बालबालिकालाई पेन्टिङ र खेल सामाग्री वितरण

नेपालगन्ज, ३१ भदौ – गोपाल–नीना फाउण्डेशन, नेपालगन्जद्वारा स्थानीय निलसागर सेवा आश्रममा आश्रित बावबालिकाहरुलाई पेन्टिङ र खेल सामाग्री वितरण गरेको छ । ६२ औं अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा आश्रित बालबालिकालाई उक्त सामाग्री र आश्रित सबैलाई विहानको खाना पनि खुवाइएको हो ।

गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले दिनु भएको जानकारी अनुसार आश्रममा आश्रित अभिभावक विहीन, आफन्तहरु समेत गुमाएका सहारा विहीन ७८ जना बालबालिकाहरुलाई पेन्टिङ र खेल सामाग्री वितरण गरिएको थियो । डा. तृप्ती पाल रमणले भन्नुभयो– बाल दिवसकै अवसरमा गत वर्ष उक्त कार्यक्रम लगायत बालबालिकाहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण औषधी वितरण तथा स्वास्थ्य परामर्श सेवा पनि प्रदान गरिएको थियो ।

फाउण्डेसनका संस्थापक अध्यक्ष वरिष्ठ पेट रोग विशेषज्ञ डा. गौरव श्रेष्ठका अनुसार सोही अवसरमा आश्रममा आश्रित २ सय ५४ जनालाई विहानको खाना पनि खुवाइएको थियो भने सबै बालबालिकाहरुलाई स्टेसनरीको किट र हाइजिन किट पनि वितरण गरिएको थियो । खाना खुवाउने कार्यक्रममा प्रसिद्ध स्त्री रोग विशेषज्ञ डा. नीना श्रेष्ठ, फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ र आयोजक टिमका अन्य अतिथिहरुले खाना खुवाउनु भएको थियो ।

सो अवसरमा फाउन्डेसनका शुभचिन्तक वरिष्ठ पत्रकार पूर्ण लाल चुकेले २०७९ सालमा स्थापना भएको गोपाल(नीना फाउण्डेशन, नेपालले स्थापना कालदेखि नै विभिन्न किसिमका सामाजिक, मानवीय तथा स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरु आयोजना गर्दै आएको चर्चा गर्नु भयो । वरिष्ठ पत्रकार चुकेले भन्नुभयो– पश्चिम नेपालका सुप्रसिद्ध वरिष्ठ फिजीसियन डा. गोपालप्रसाद श्रेष्ठ र प्रसिद्ध स्त्रीरोग विशेषज्ञ डा. नीना श्रेष्ठको नाममा उहाँका सुपुत्र वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठको अध्यक्षतामा स्थापित उक्त फाउण्डेसनले विभिन्न सामाजिक गतिविधि तथा स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरु लगायत स्थानीय जनमत अर्धसाप्ताहिकद्वारा विगत २० वर्षदेखि सञ्चालन गर्दै आएको त्रैमासिक रक्तदान कार्यक्रममा गत वर्षदेखि सहकार्य गरेर महत्वपूर्ण मानवीय योगदान दिंदै आएको छ । नेपालगन्ज–१० निवासी वरिष्ठ चिकित्सकद्वय श्रेष्ठ २०३९ सालदेखि नेपालगन्जमा चिकित्सा सेवामा कार्यरत हुनुहुन्छ ।

कार्यक्रमको सहजीकरण गर्दै निल सागर आश्रमकी संस्थापक अध्यक्ष सरिता खनालले स्वगत मन्तव्य राख्दै २०७३ स्थापना भएको संस्था बाँके जिल्लामा अहिले बुवा आमा र अनाथ बालबालिकाहरु २५४ जना आश्रित रहेको स्थानीय सरकार बाहेक कतैबाट कुनै सहयोग नभएको जनताको सहयोगबाट सञ्चालन भइरहेको बताउनु भयो । आश्रमको भवन निर्माणाधीन छ तथा संरचना निर्माण गरिएतापनि पूर्णता दिन नसकेको बताउँदै अध्यक्ष खनालले आश्रित बालबालिकाको शिक्षा, स्वास्थ्य र बुवा आमा तथा आश्रमको व्यवस्थापनमा समस्या झेल्दै आएको बताउनु भयो ।

सो कार्यक्रममा फाउण्डेसनका कार्यालय प्रमुख दिलिप गिरी, फाउण्डेशनका रिसर्च अफिसरद्वय प्रतिभा पौडेल र अनूप आर्या, अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पतालका कर्मचारीहरु दक्षिणा क्षेत्री, रोशनी रानामगर, पवित्रा थापामगर लगायतले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *