Wednesday, April 29सत्यम खबर
Shadow

नेपाली जनता अभिभावक बिहीन ‘टुहुरा’ बनेकोः पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाण्डौ, ७ कार्तिक – पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान समयमा नेपाली जनता अभिभावकविहीन ‘टुहुरा’ बनेको पीडाबोध भइरहेको बताएका छन् ।
बडादसैंको शुभकामना सन्देश जारी गर्दै बिहीबार पूर्वराजा शाहले यस्तो बताएका हुन् ।
शाहले भनेका छन्, ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावक विहीन टुहुरा बनेको पीडाबोध यतिबेला हुँदैछ ।’


शाहले प्राकृतिक विपत्ति मानव वशको कुरा नभएको हामी सबैले बुझेका छौं भन्दै विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत नभएको बताएका छन् ।
‘आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ, जनतालाई बचाउन सकेमात्र राज्य बच्ने र राज्य रहेमात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनुपर्छ,’ विज्ञप्तिमा छ ।
शाहले विदेशमा गएर रोजगारीमा लागेकाहरू संकटमा छन् भन्दै देशभित्र उनीहरूको श्रम,सीप र सामर्थ्यको सदुपयोग गर्ने कुनै बन्दोबस्त नभएको बताएका छन् । ‘त्यसैले, देश, समाज र परिवारको मोह ममताले आएकाहरू पनि फेरि कामका लागि विदेशतिरै लर्को लागेको मार्मिक अवस्था देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
पूर्वराजा शाहले राहत, रोजगार र रोगको उपचार खोज्दै भौंतारिका जनसमूहलाई भरपर्दो आड आधारको आवश्यकता महशुस गराउन नसकिएको उल्लेख गरेका छन् । उनले दैनिक जीविकाको अत्यावश्यक वस्तुको मूल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रासजस्ता विषयले जनजीवन पिरोलिएको बताएका छन् ।
‘समाजमा अनेक आपराधिक गतिविधि र पिसाच प्रवृत्ति बढ्दो छ, यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ, आज सबैले बढ्दो आशुरी र भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन्,’ उनले अहिलेको परिस्थिति माथि कटाक्ष गरेका छन् ।
शाहले ‘नेपाललाई चिनौं, नेपालीलाई बुझौं, नेपाली भएर बाँचौं अनि नेपाल र नेपालीको निम्ति सोचौं’ भन्दै नेपालकै हितका खातिर र नेपाली शैली अंगालेर उज्यालो बाटोतिर लैजाऔं भनेर आग्रह गर्दै आएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *