Monday, March 9सत्यम खबर
Shadow

क्लिन फिड : शुक्रबार मध्यरातिबाट रोकिनेछ १ सय ८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं, ७ कार्तिक – आज शुक्रबार मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै ८ कार्तिकदेखि विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनै पर्ने बताएको छ । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ ।


भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरेपनि सरकारले अस्वीकार गरेको छ । क्लिनफिडसहित च्यानल प्रसारण नभएमा कानून बमोजिम हुने मन्त्रालयले बताएको छ ।
कार्तिक ८ देखि विज्ञापन बजाएमा विदेशी च्यानल च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ । २०७५ कार्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएको थियो ।
ऐनमा भनिएको छ, ‘ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले यस ऐन प्रारम्भ भएको एक वर्षभत्र विज्ञापनरहित प्रसारण गर्नुपर्नेछ ।’
कुन–कुन च्यानल बन्द हुन्छन् ?
नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीका अनुसार आज मध्यरातबाट ३२ वटा मात्रै विदेशी च्यानल प्रशारण हुने अवस्था छ । प्याकेजमा किनिने र सित्तैमा बजाउन पाइने गरी करिब १ सय ८० भन्दा बढी च्यानलको प्रसारण तत्कालका लागि बन्द हुने उनले बताए ।
टेलिभिजन प्रसारकले प्याकेजमा किन्ने गरेको ९२ च्यानलमध्ये ६० वटा च्यानललले तत्कालै क्लिन फिड कन्टेन्ट दिन नसिकने बताएका छन् ।
कतिपयले तयारी गरेपनि पुरा गर्न सकेका छैनन् । अध्यक्ष पराजुलीका अनुसार ‘जी’को १२ वटा र सोनीको ८ वटा च्यानल क्लिन फिडसहित भोलिको मध्यरातबाटै प्रसारण हुनेछन् । तर, कार्टुनका च्यानल, बीबीसी अलजजिरा, स्टार्स र कलर्स प्याकेजका च्यानलहरु तत्कालै नेपालमा प्रसारण नहुने भएका छन् ।
२० वटा विदेशी च्यानलले क्लिनफिडको सबै तयारी सकाएको र ‘जी’का १२ वटा च्यानलले आज शुक्रबारसम्म सबै तयारी सकाउने जानकारी आएको पराजुलीले बताए । ‘अब फुटबल र क्रिकेटका च्यानलहरु बन्द हुन्छन्,’ उनले भने,‘सम्बद्ध च्यानलले क्लिन फिड गर्न समय माग्दा सरकारले दिएन, त्यसैले केही समय ३२ वटा विदेशी च्यानलमा ग्राहकले चित्त बुझाउनुपर्छ ।’
पराजुलीका अनुसार पैसा तिरेर किनिने प्याकज बाहेकका ‘फ्रि टु एयर’मा सित्तैमा उपलब्ध हुने १ सय २० वटा च्यानल पनि आज मध्यरातबाटै बन्द हुनेछन् । ‘स्टार्स र कलर्सका क्लिन फिड गर्ने बक्स सिंगापुरमा आइपुगेर अड्किएको छ,’ उनले भने, ‘उनीहरुले कहिलेबाट क्लिन फिड प्रविधि जडानको सकाउँछन् भन्ने पक्का भएको छैन ।’
भारतीय न्युज च्यानलमध्ये अब ‘जी न्युज’ मात्रै बज्ने छ । अन्य न्युज च्यानलले नेपालमा क्लिन फिडसहित प्रसारण गर्न चाहेका छैनन् । न्युज च्यानलका स्क्रिनका विभिन्न भागमा विज्ञापनहरू राखिने र विज्ञापन गर्ने समय पनि यकिन नहुने भएकाले न्युज च्यानलमा क्लिन फिड गर्न असहज छ ।
प्रत्यक्ष प्रसारणका बेलामा विज्ञापन हुने समय निश्चित नहुने भएकाले क्लिन फिडले खेलकुद च्यानलहरूको प्रत्यक्ष प्रसारणमा पनि समस्या पर्नसक्ने देखिएको छ । तर, खेलकुद च्यानललाई व्यवस्थापन गर्ने आश्वासन भारतीय प्रसारकहरूले दिएका छन् । भारतीय प्रसारकले नेपाल मै क्लिन फिड गर्ने भएपछि अब विज्ञापन बज्ने समयमा स्क्रिन खाली देखिनेछ । त्यो समयमा नेपाल कै विज्ञापन राख्न पाउनुपर्ने माग नेपाली टेलिभिजन सेवा प्रदायकहरूले गरेका छन् ।
तर, संसदको विकास तथा प्रविधि समितिले नेपाली टेलिभिजनलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै क्लिन फिड गरिएका विदेशी च्यानलमा नेपालको विज्ञापन बजाउन नपाउने प्रबन्ध गर्न निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *