नेपालगन्ज, ६ श्रावण – नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व पार्टी सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव वीपी कोइरालाको ४२औं स्मृति दिवस आज बाँकेमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
नेपाली कांग्रेस बाँकेले माल्यार्पण तथा हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेर ४२औं स्मृति दिवस मनाएको छ ।
कांग्रेस बाँकेले आज आइतबार विहान नेपालगन्जस्थित वीपी चोकमा अवस्थित शालिकमा माल्यार्पण गरेर महामानव कोइरालालाई स्मरण गरेको हो । कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीले वीपीको शालिकमा माल्यार्पण गरेका हुन् । माल्यार्पण कार्यक्रममा पूर्व पार्टी सभापतिहरु सनत रेग्मी, गजेन्द्र हमाल, किरण कोइराला लगायत पार्टी पदाधिकारी, अग्रज नेता, कार्यकर्ताको उपस्थिति रहेको सचिव सुधांशु कोइरालाले बताए ।
यसैगरी कांग्रेस बाँकेले सामुदायिक विद्यालयहरुका बीचमा हाजिरीजवाफ प्रतियोगिता गरेको छ । १० वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएको प्रतियोगितामा फुल्टेक्रा मावि प्रथम, धम्बोझी मावि द्वितीय, आदर्श मावि तृतीय र महाराजा मावि सान्त्वना भएको कार्यालय सचिव अमित कँडेलले जानकारी दिए ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका विद्यालयहरुलाई कांग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, कार्यबहाक सभापति अधिकारी, लुम्बिनी प्रदेश सदस्य कृष्ण कुमारी सापकोटा (चौधरी), सचिव कोइराला, सहसचिव रेनु सिंह ठाकुर, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा फुल्टेक्रा मावि, महाराजा मावि, सरस्वती मावि, धम्बोझी मावि, नारायण मावि, नेपालगञ्ज कन्या मावि, आदर्श मावि, युद्ध संस्कृत मावि र मंगल प्रसाद मावि सहभागी थिए ।
त्यसक्रममा बोल्दै केन्द्रिय सदस्य बाल्मिकीले वीपी कोइरालाको विचार र आदर्श कांग्रेस मात्र नभएर मुलुक कै लागि अपरिहार्य र अनुकरणीय रहेको बताए । उनले वीपीले परिकल्पना गरेको नेपाल बनाउन सबै दृढ संकल्पित भएर लाग्नुपर्नेमा जोड दिए ।
कार्यबहाक सभापति अधिकारीले महामानव वीपी कोइराला नेपाली राजनीतिको आदर्श ब्यक्ति भएको चर्चा गर्दै कोइरालाले देखाएको बाटोमा हिँड्न सके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राखे । अधिकारीले वीपीमा देश बनाउने सपना र हुटहुटी भए पनि समय नरहेको बताउँदै अब समकालीन नेताहरुले उनको सपना पूरा गर्न राजनीतिक संकल्प लिनुपर्नेमा जोड दिए ।