Thursday, December 11सत्यम खबर
Shadow

ब्लु डायमन्ड सोसाइटीको अनियमितताबारे अख्तियारले थाल्यो छानबिन

काठमाण्डौ, ६ श्रावण – यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको नाममा दातृ निकायबाट प्राप्त अनुदानमा अनियमितता भएको उजुरी माथि छानबिन सुरु भएको छ ।
नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको महासंघ नेपाल (एफएसजीएमएन) क्रुजएड्स नेपाल, मितिनी नेपाल, क्वेयर ग्रुप, क्याम्पेन फर चेन्ज संस्थाहरूले अनुदान रकममा गरेको अनियमितताबारे छानबिन सुरु भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी संस्थाहरूको अपारदर्शी कामको छानबिन गर्ने निर्णय गत जेठ २८ गते नै गरेको जानकारी दिएको छ । आयोगका सूचना अधिकारी देवी प्रसाद थपलियाले छानबिनको निर्णय गरेर महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा फाइल पठाइएको जानकारी दिए ।
मन्त्रालयका सचिवलाई लेखी पठाउने निर्णय आयोगले गरेको थपलियाले बताए । अख्तियारबाट छानबिनका लागि फाइल प्राप्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले यी संस्थाहरूको अनियमितताबारे छानबिन गर्न समाज कल्याण परिषद्मा पठाउने तयारी गरेको जानकारी दिएको छ ।


आफू नगर्ने र अरूले गर्न लागे विरोध गरेर भाँड्ने काममा लागिरहने ब्लु डायमन्ड सोसाइटीको नेतृत्वमाथि युएसएआडी अन्तर्गत एफएचआइ ३६० को सहयोग लिएर हर्मोन खान र यौनाङ्ग प्रत्यारोपण गर्न उक्साएको आरोप समेत लागेको छ ।
पैसा हुनेले त हर्मोन खालान्, लिङ्ग परिवर्तन गर्लान ? के उनीहरू मात्रै तेस्रो लिङ्गी हुने हो ? स्वार्थका लागि गठित संस्थाहरूले यस्तो भ्रम फैलाएपछि कीर्तिपुरमा रहेको समर्पण सभ्य समाज नेपालका सचिव हनि महर्जनले सामाजिक सञ्जालमा कतिपय व्यक्तिले आफ्नो शरीरमा यसको उपयोग नगर्न पनि सक्छन ! यसको मतलब यो होइन कि उहाँ तेस्रो लिङ्गी नै होइन ! उहाँको मन आत्मादेखि त उहाँ तेस्रो लिङ्गी नै हुन्छ नि होइन र? भनेर लेखेका थिए ।
ब्लु डायमन्ड सोसाइटीकी अध्यक्ष सञ्जीव गुरुङ (शीतल, पिंकी) माथि नयाँ शक्ति पार्टीमा आबद्ध हुँदा विवेकशील आर्दर्श इन्भेस्टमेन्ट कम्पनी प्रा.लि.को रसिदमा जलविद्युत आयोजनाको सेयर बिक्री रकम अपचलन गरेको समेत आरोप लागेको छ । सेयर भरेका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई पिंकीले रकम के भयो ? भन्दा जवाफ दिन सकेकी छैनन् । उनी सहित आरोप लागेका संस्थाका नेतृत्व समुदायले गरेका प्रश्नबाट भागिरहेका छन् ।
केही मुठ्ठीभर समुदायका हर्ताकर्ता भनिएकाहरूले गर्न नसकेको पहल गर्ने समुदायलाई पक्षपात गरिएको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको इल्गा एसियाले गर्न लागेको सम्मेलनमा यही स्वार्थ समूहले चाहेका मात्रै सहभागी भएका छन् । समलिङ्गी तेस्रो लिङ्गी घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अघिल्लो दिन नै आयोजना गरेको मिस पिंकमा सहभागीहरूलाई समेत अवसर नदिए पछि असन्तुष्टि छताछुल्ल भएको छ ।
मिस पिंकको उपाधि अनमोल राईले पहिरिए पनि विवाद भए पछि फस्ट रनर अप सरोजी न्यौपानेलाई थाइल्यान्ड पठाउने आश्वासन दिएर थमथमाएको पाइएको छ । तर, इल्गा एसियाको सम्मेलनमा सहभागी छनौटलाई लिएर अर्को विवाद भएको छ । इल्गा बोर्डमा ब्लु डायमन्ड सोसाइटीकी कार्यकारी निर्देशक सुवेन ढकाल (मनीषा) छन् । उनले आफू अनुकूल नाम छनौट गरेको भन्दै समुदायमा तीव्र असन्तुष्टि छ ।
समुदायमाथि समुदायकै नेतृत्वले गरेको विभेद, संस्थाभित्रको अपारदर्शिता लगायतमा राज्यको नियामक निकायले छानबिन थालेको हो । छानबिनबाट सत्यतथ्य बाहिर आउने लैङ्गिक तथा यौनिक अल्पसंख्यकले विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *